
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा कक्षा १० एसईईका लागि विद्यार्थीहरू अन्तिम तयारीमा जुटेका छन् ।
५ लाख ९ हजार विद्यार्थी सहभागी हुने परीक्षामा विद्यालयमा अतिरिक्त कक्षा लिएर होस् वा घर र तथा साथीभाईसँग समूहमा बसेर उनीहरूले उत्कृष्ट नतिजा ल्याउन दिनरात कठोर मेहनत गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि उत्तरपुस्तिका र प्रश्नपत्र जिल्ला जिल्लामा पठाइरहेको छ ।
भक्तपुरको आर्दश माध्यामिक विद्यालयकी छात्रा युजिन गोलेले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन दिनरात मेहनत गरिरहेकी छिन् । बिहान साढे ६ देखि बेलुका ९ बजेसम्म विद्यालयमा अतिरिक्त कक्षाका साथ घरमा पनि पुराना र सम्भावित प्रश्नपत्रहरूको हल गर्ने तरिका सिक्दै पढिरहेकी छन् ।
युजिनजस्ता यस विद्यालयका १ सय ४५ जना विद्यार्थी यसरी नै एसईई परीक्षाका लागि तयारीमा जुटेका छन् । परीक्षा नजिकिएसँगै विद्यार्थीहरूमा राम्रो नतिजाका लागि दबाब बढ्दै गएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका ५ लाख ९ हजार ९ सय ६१ जना विद्यार्थी आ-आफ्नै तरिकाले परीक्षाको तयारीमा जुटेका छन् ।
विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजाका लागि घर, साथीभाइ र ट्युसन पढेर मेहनत गरिरहेका छन् । धेरैजसो विद्यार्थीहरूले बिहान बेलुका गरी १२ घन्टा भन्दाबढी समय दिएर परीक्षाका लागि रातदिन लागिपरेका छन् । विद्यालयका शिक्षकहरूले समेत गणित, विज्ञान र अंग्रेजीमा कमजोर भएका विद्यार्थीलाई प्राथमिकतामा राखेर पुराना र सम्भावित प्रश्नहरूमार्फत अभ्यास गराइरहेका छन् ।
चैत १९ गतेदेखि सुरू हुने एसईईका परीक्षामा ४ लाख ४६ हजार ४ सय ७६ नियमित र ६३ हजार ४ सय ८५ ग्रेड वृद्धि गरि ५ लाख ९ हजार ९ सय ६१ जना परीक्षार्थीहरू सहभागी हुनेछन् । साधारण धार, प्राविधिक र संस्कृतिका गरी १ सय २८ विषयको परीक्षाको प्रश्नपत्र छपाइ गरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा पुर्याइसकेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
जनक शिक्षाको सेकुरेटी प्रेसमा कडा सुरक्षाको घेरामा काम भइरहेको र मधेश र बागमती प्रदेशका जिल्लाहरूमा ९ गतेसम्ममा पुर्याइसक्ने उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । ती प्रस्नपत्रहरू सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा राख्ने चलन छ । विद्यार्थीलाई राम्रो नतिजाका लागि दबाबभन्दा पनि पढ्ने वातावरणमा सहजीकरण गर्नु शिक्षक अभिभावकको दायित्व हो ।