सवारी चिप्लिँदा दाउन्नेमा सडक एकतर्फी रूपमा सञ्चालन

चैत्र ६, २०८२ |नवीन पौडेल
सवारी चिप्लिँदा दाउन्नेमा सडक एकतर्फी रूपमा सञ्चालन

परासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्डमा सडक चिप्लो हुँदा दाउन्नेमा सवारी एकतर्फी रूपमा सञ्चालन भइरहेकाे छ। 

हिलोले सवारी सञ्चालनमा कठिनाइ हुँदा सयौं सवारी साधन दाउन्नेमा जाममा रोकिएका छ्न्। बुटवल नारायणगढ सडक विस्तारअन्तर्गत अहिले दाउन्ने खण्डमा काम भइरहेको छ । खाल्डाखुल्डी रहेको यो सडक खण्डमा पानी परेपछि सडक चिप्लो हुँदा उकालोमा सवारी उक्लन समस्या भएपछि यातायात एकतर्फी रुपमा सञ्चालन भइरहेकाे हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक विरेन्द्र गुरूङका अनुसार विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला र विश्वकर्मा मन्दिर नजिकै सवारी सञ्चालन हुन नसक्दा यातायात एकतर्फी सञ्चालनमा आएको छ । मौसम सफा नभएको र पानी पर्ने सम्भावना अझै भएकाले सवारी कहिले सहज हुन्छ भन्ने अवस्था छैन ।

सवारीको लामो जाम हुन नदिन र यात्रुबाहक सवारीलाई प्राथमिकतामा राखेर दाउन्ने खण्ड पार गराउन मालबाहक र ठूला सवारी साधनलाई पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्किबासमा नै रोकिएको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।