
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी स्थगन गर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
दीपक खतिवडाले दिएको निवेदशमा सुनुवाइ गर्दै अदालतले लामाको उम्मेदवारी यथास्थितिमा राख्नुपर्ने आदेश दिएको हो। अब मुद्दाको अन्तरिम आदेश छलफलको लागि अदालतले यही चैत १० गते मिति तोकेको छ। एन्फाले यही चैत १३ गते झापामा साधारण सभा र चुनाव गर्ने घोषणा गरेको छ।
चुनावका लागि मतदाता र उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकासन भइसकेको छ। तर, उम्मेदवार मध्येका एक दावा लामा यसअघि खैरो हेरोइन मुद्दामा पाँच वर्ष कैद र पाँच हजार जरिवाना हुने ठहर भएका व्यक्ति रहेका थिए। उनलाई पाटन अदालतले नै २०६४ साल जेठमा खैरो हेरोइन कसुरमा सजाय सुनाएको थियो।
एन्फाले निर्वाचनका लागि सबै उम्मेदवार र मतदातालाई तालिका पठाइसकेको छ। यता राष्ट्रिय खेलकुद परिषद्ले भने यो निर्वाचनका लागि अझैसम्म पनि स्वीकृति प्रदान गरेको छैन्। उसले आफ्नो स्वीकृति विना नै निर्वाचन गरेमा निर्वाचन मान्य नहुने निर्देशन दिएको छ। निर्वाचनका लागि फिफा र एएफसीले भने मान्यता दिएका छन्।