
काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको विजेताले नगद १० लाख रूपैयाँ र उपविजेताले पाँच लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ-क्यानले विज्ञप्ति जारी गर्दै शनिबारदेखि सुरू हुने प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक गरेको हो । प्रतियोगिता काठमाडौंको मुलपानी क्रिकेट मैदानसँगै मधेश प्रदेशका पर्सा र जनकपुरमा सञ्चालन हुनेछ ।
प्रतियोगिताका अधिकांश खेल, फाइनलसहित, मधेश प्रदेशमै हुनेछन् । यसअघि प्रतियोगिताका केही खेलहरू टीयू क्रिकेट मैदानमा पनि आयोजना गर्ने तयारी थियो । तर, आईसीसी विश्वकप लिग-२ का लागी मैदान स्तरोन्नति गर्नुपर्ने भएकाले त्यहाँका खेलहरू तल्लो मुलपानीमा सारिएको हो ।
पीएम कप बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेशका टोलीहरु सहभागी हुनेछन् ।