चैतै दशैं मनाउन घर फर्किँदै भारत गएका नागरिक

महेन्द्रनगर बसपार्कमा पहाडी जिल्ला जानेको भिड
चैत्र ६, २०८२ |हरिश्चन्द्र बाग
चैतै दशैं मनाउन घर फर्किँदै भारत गएका नागरिक

कञ्चनपुर । चैते दशैंअन्तर्गतको नवरात्रका लागि सुदूरपश्चिममा पुर्ख्यौली थलो फर्किनेहरूको चहलपहल बढेको छ। 

तराई र सहरबाट पुर्ख्यौली थलो पहाड फर्किनेहरूको चापले बसपार्कहरू व्यस्त बनेका छन् । नवरात्राले धार्मिक मात्र नभइ सामाजिक र सांस्कृतिक रूपमा पनि सुदूरपश्चिमलाई जोड्ने गरेको छ । नवरात्रका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पुर्ख्यौली थलो फर्किनेहरूको संख्या दिनहुँ बढेको छ । 

कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा यतिबेला पहाडतर्फ जाने यात्रुको संख्या बढ्दो छ । भारतमा रोजगारी गरी फर्किएका प्रवासी, अध्ययन तथा रोजगारीका सिलसिलामा घर बाहिर रहेका व्यक्ति तथा पहाडबाट तराई झरेका परिवार यतिबेला पुर्ख्यौली घर फर्किरहेका छन् । नवरात्राको अवसरमा कुलदेवता र इष्टदेवताको पूजा गर्ने परम्पराले पनि घर फर्किनेको संख्या बढेको हो ।

सुदूरपश्चिममा चैत र असोजमा पर्ने दुवै दशैंलाई 'सात्विक दशैं' का रूपमा मनाउने चलन छ । यहाँ नौ दिनसम्म व्रत बस्ने, मन्दिरमा पूजा गर्ने, जाग्राम बस्ने र देवी देवताप्रति आस्था प्रकट गर्ने परम्परा रहिआएको छ । नवरात्राका बेला सुदूर पहाडका गाउँ-गाउँमा रहेका देवी मन्दिरहरूमा विशेष पूजा गरिन्छ भने कतिपय स्थानमा जात्रासमेत लाग्ने गर्दछ । 

टाढा रहेका आफन्तबीच भेटघाट हुने भएकाले यसको सामाजिक महत्व पनि उत्तिकै रहेको छ । तर, एकै समयमा धेरै यात्रुको चाप बढ्दा भाडा महंगो र टिकट नपाउने समस्या पनि उत्तिकै छ । यात्रुहरूको चाप बढेसँगै व्यवसायीलाई सार्वजनिक यातायातका साधान व्यवस्थापनमा चुनौती थपिएको छ ।

बस व्यवसायी समितिका प्रतिनिधिहरू सार्वजनिक सवारीमा यात्रुहरूको चाप बढेसँगै सवारी दुर्घटनाको जोखिमसमेत त्यत्तिकै रहेको छ । सुरक्षित यात्राका लागि सम्बन्धित निकायले निरन्तर अनुगमन गर्न जरूरी छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।