पोखरा । चारवर्ष अघिसम्म पोखरामा बर्षेनि प्याराग्लाइडिङका राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता नियमित रूपमा आयोजना भइरहन्थे । तर, २०७९ असोज ३० गते पोखरामा नवौं राष्ट्रिय प्रतियोगिताका क्रममा निसम थापाको दुर्घटनामा परि निधन भएपछि नागरिक उड्यन प्राधिकरणले सोलो उडान पूर्णरूपमा बन्द गर्यो ।
त्यसयता कुनै पनि प्याराग्लाइडिङ प्रतियोगिता आयोजना भएनन् । चार वर्षदेखि बन्द सोलो उडान गत भदौदेखि खुला गरेपछि भने पोखरामा प्याराग्याइडिङ प्रतियोगिताले निरन्तरता पाएको छ । नेपाल हवाई खेलकुद संस्थाले सोलो उडान प्रतिबन्धको तीन वर्षपछि बिहीबारदेखि शनबिारसम्म '२१औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप' आयोजना गरेको छ ।
खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता खेल्न घरेलु खेलाडीका अतिरिक्त फ्रान्स, जर्मन, चीन, भारत गरी ५ देशका ६२ जना खेलाडी पोखरा आएका छन् ।
एक्युरेसी विधामा आयोजित प्रतियोगितामा एक सयभन्दा धेरैले नाम दर्ता गरे पनि मध्य एसियामा बढेको तनावले ४० भन्दा बढी खेलाडी सहभागी भएनन् । प्रतियोगिताबाट १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशस्तरीय खेलाडी छनोट गरिनुका साथै अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी गराइने बताइएको छ ।
सराङकोट क्षेत्र हावाको दिशा, तापक्रम, थर्मल गतिविधि तथा सम्भावित जोखिम कम हुने भएकाले उडानका लागि उपयुक्त मानिन्छ । तर, क्यानले यो क्षेत्रबाट उडान गर्न अहिले पनि रोक लगाएको छ । जारी प्रतियोगिताका लागि मात्र उडान अनुमति लिइएको छ । चार वर्षपछि पोखरेली आकासमा प्रतिस्पर्धा गर्न पाउँदा खेलाडी खुसी छन् ।
अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सुन्दर दृश्यका साथै फेवाताल र आसपासका पर्यटकीय स्थलको अवलोकन गर्न पाइन्छ । यिनै कारण पोखराको प्याराग्लाइडिङ पर्यटकको पहिलो रोजाइमा पर्नेगर्छ । सराङकोटको तोरेपानीबाट अहिले नियमित व्यवसायिक उडान हुँदै आएको छ ।
पोखरामा हाल ५० भन्दाबढी व्यावसायिक प्याराग्लाइडिङ कम्पनीमा करिब तीन सय ६६ टेन्डम र एक सय ४० सोलो पाइलट कार्यरत छन् । यसरी साहसिक एवं मनोरञ्जनात्मक खेल प्याराग्लाइडिङ प्रतियोगिताले निरन्तरता पाउँदा पर्यटन क्षेत्रमा नयाँ आशा पलाएको छ ।