फिफा विश्वकपकाे सुरक्षा चिन्ता गहिरियाे, जोखिमबारे अमेरिकी गुप्तचर निकायकाे ब्रिफिङ

चैत्र ६, २०८२ |खेल ब्युरो
फिफा विश्वकपकाे सुरक्षा चिन्ता गहिरियाे, जोखिमबारे अमेरिकी गुप्तचर निकायकाे ब्रिफिङ

काठमाडौं । अमेरिकी गुप्तचर निकायले अमेरिकामा आउँदो फिफा विश्वकपमा अपराधिक समूहबाट आक्रमण हुनसक्ने जोखिमबारे चेतावनी दिएका छन्। 

गोप्य ब्रिफिङअनुसार विश्वकप फुटबललाई लक्षित गर्दै चरमपन्थी समूहबाट आक्रमणको खतरा बढेको सूचना बाहिर आएको हो। अर्कोतर्फ सुरक्षा तयारीका लागि स्वीकृत बजेट ढिला हुँदा अमेरिकाको तयारीमा असर परेकोसमेत जनाइएको छ। अमेरिकाका संघीय तथा राज्य अधिकारी र फिफाद्वारा तयार पारिएका ती ब्रीफिङमा आक्रमणको जोखिम, यातायात पूर्वाधारमा हमला तथा राष्ट्रपति डनल्ड ट्रम्पको आप्रवासन कडाइ नीतिसँग सम्बन्धित सम्भावित नागरिक अशान्तिबारे चिन्ता व्यक्त गरिएको छ। 

विश्वकै सबैभन्दा ठूलो खेल प्रतियोगिता विश्वकप फुटबल यसवर्ष जुन र जुलाई महिनामा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ। यस्ता प्रतियोगितामा सुरक्षा सतर्कता उच्च हुने भए पनि हाल इरानसँगको युद्धपछि सम्भावित प्रतिशोधात्मक आक्रमणको खतरा बढेको भन्दै अमेरिकी सुरक्षा निकाय अझ बढी सतर्क बनेका छन्। 

विश्वकप तयारीमा खटिएका अधिकारीले पछिल्ला हप्तामा ६ सय २५ मिलियन डलर बराबरको संघीय सुरक्षा अनुदान वितरणमा ढिलाइ भएको विषयमा चिन्ता व्यक्त गर्दै आएका छन्। उक्त बजेट जुलाई २०२५ मा पारित रिपब्लिकन समर्थित खर्च विधेयकअन्तर्गत समावेश गरिएको थियो।जुन ११ मा मेक्सिकोबाट पहिलो खेल सुरू हुने र त्यसको भोलिपल्ट अमेरिका र क्यानडामा खेलहरू सुरू हुने तय भइसकेको छ। आयोजक राज्य तथा सहरहरूले सम्भावित आक्रमणबाट जोगिनका लागि सुरक्षा योजना तीव्र बनाइरहेका छन्।