देउवाको वक्तव्य : म खुला किताब हुँ वास्तविकता समयक्रमसँगै खुल्दै जान्छ

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
देउवाको वक्तव्य : म खुला किताब हुँ वास्तविकता समयक्रमसँगै खुल्दै जान्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय भ्रामक भएको दाबी गर्नुभएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि बुधबार पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गरेर आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेस गरेको उल्लेख गर्नुभएको छ । 

उहाँले आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै जाने उल्लेख गर्नुभएको हो । देउवाले अतिरञ्जित गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपीलसमेत गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ- 

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,

म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।

म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।

शेरबहादुर देउवा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.