
विराटनगर । विराटनगरमा यही चैत २८ देखि ३८औं विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
२८ गतेदेखि हुने गोल्डकपको ३८औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको बुधबार विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्डकप भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।
उनले वैशाख ५ गतेसम्म हुने गोल्डकपको ३८औं संस्करणको तयारी अन्तिम चरणमा रहेको बताए । प्रतियोगितामा तीन विभागीय टोली तथा नेपाल र भातरका गरी आठ टोलीको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको तथा काठमाडौंको मच्छिन्द्र फुटबल क्लब, काठमाडौंको चर्च ब्वाईज फुटबल क्लब, विराटनगरको सम्राट स्पोर्टिङ क्लब, झापाको झापा ११ फुटबल क्लब र भारतको अल झारखण्ड विर्षा मुण्डा फुटबल एकेडेमीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख रूपैयाँ र उपविजेताले ५ रूपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रूपैयाँ पाउने छन् । यसैगरी, सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रूपैयाँका साथै प्लेयर अफ द म्याचले ११ हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।