
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।
यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रूपैयाँ थपघट हुँदा भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडादर बुधबारबाट लागू भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सैद्धान्तिक सहमति दिएसँगै नयाँ भाडादर कायम गरेको विभागले जनाएको छ । सरकारको निर्णयअनुसार यात्रुवाहक सवारी साधनमा १६ दशमलव सात एक प्रतिशत भाडा बढेको छ ।
त्यस्तै पहाडी सडकमा चल्ने मालवाहक सवारीमा २१ दशमलव छ आठ र तराईका सडकमा सञ्चालन हुने मालवाहक सवारीमा १५ दशमलव सात पाँच प्रतिशत भाडा बढेको विभागले जानकारी दिएको छ । विभागका निर्देशक श्रीकान्त यादवले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने सवारी साधनको हकमा विभागले हेर्ने र यसलाई नै आधार बनाएर सम्बन्धित प्रदेशहरूले हाल कायम रहेको भाडा बढाउने जानकारी दिनुभएको छ ।
उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनको हकमा पनि बागमती प्रदेशले नै भाडादर निर्धारण गर्नेछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विभागले निर्णय गरेर भाडादर सार्वजनिक गरेपछि सम्बन्धित प्रदेशमार्फत नयाँ भाडादर लागू हुने जानकारी दिनुभयो ।
इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक सवारीसाधनको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली २०७८ चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट लागू भएको थियो । त्यहीअनुसार विभागले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भए सोही अनुपातमा अन्तरप्रदेशीय यातायातको भाडा समायोजन गर्ने अधिकार पाएको छ ।
सार्वजनिक यातयातको भाडा दर बढेको तर कति भन्ने विषय ढुङगो लाग्न बाँकी रहेको यातयात विभागले जनाएको छ। सातैवटा प्रदेशहरूलाई सार्वजनिक यातयातमा भार दर बढेको परिपत्र गरिसकिएको र अव प्रदेशहरूले सम्बन्धित सरोकारवालासँग छलफल गरेर त्यसको टुङगो लगाएपछि राजपत्रमा सूचना प्रकाशित गरेपछि कार्यान्वयनमा आउने विभागले जनाएको छ।
बढेको भाडादर विद्युतीय गाडीमा भने लागू नहुने विभागले प्रष्ट पारेको छ । विभागले चैत २२ गते नै भाडा समायोजनका लागि मन्त्रालयमा फाइल पेस गरेको थियो । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालको मन्त्रीस्तरीय निर्णयबाट विभागको प्रस्ताव स्वीकृत भएसँगै नयाँ भाडादर कार्यान्वयनमा आएको हो ।