
काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच घोषणा गरिएको दुई हप्ते युद्धविराम सम्झौताको स्वागत गरेको छ ।
अमेरिका र इरानबीच बढेको तनावका बीच युद्धविरामको घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर युद्धविरामलाई पश्चिम एसियाको तनाव कम गर्ने दिशामा सकारात्मक र रचनात्मक कदम भनेको छ ।
युद्धविरामले संवाद, कूटनीति र आपसी मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर प्रदान गर्ने जारी विज्ञप्तिमा भनिएको छ । युद्धविरामको विकसित कदमलाई नेपालले क्षेत्रीय शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने दिशामा सकारात्मक कदम भनेको छ ।
साथै, विवादहरूको समाधान शान्तिपूर्ण माध्यमबाट हुनुपर्छ भन्ने धारणालाई नेपालले दोहर्याएको छ । द्वन्द्वका कारण उत्पन्न मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै परराष्ट्रको वक्तव्यमा नागरिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्नुपर्ने भनिएको छ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दीगो शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायले गर्ने सबै प्रयासप्रति नेपाल सरकारको समर्थन रहने भनिएको छ ।