युईएफा च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आज दुई ठूला भिडन्त

चैत्र २५, २०८२ |खेल ब्युरो
युईएफा च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आज दुई ठूला भिडन्त

काठमाडौं । युईएफा च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार दुई ठूला भिडन्त हुँदैछन् । 

स्पेनका दुई महारथी बार्सिलोना र एथ्लेटिको मड्रिड क्याम्प नोउमा आमनेसामने हुँदै गर्दा, फ्रान्सको पेरिसमा पीएसजीले लिभरपुलको स्वागत गर्नेछ। दुवै खेल नेपाली समय अनुसार पौने १ बजे सुरू हुनेछ । स्पेनमा क्याम्प नोउमा बुधबार बार्सीलोनाले एथ्लेटिकोको स्वागत गर्दैछ । 

मात्र तीन दिनअघि ला लिगामा आमनेसामने भएका यी दुई टोली फेरि च्याम्पियन्स लिगको पहिलो लेगका लागि तयार छन् । गत शनिबारको खेलमा रोबर्ट लेवान्डोस्कीले ८७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाएका थिए ।

ऐतिहासिक तथ्यांक हेर्ने हो भने यी दुई टोली हालसम्म २५० पटक भिडिसकेका छन् । जसमा बार्सिलोनाले ११५ र एथ्लेटिकोले ७८ जित हात पारेका छन् भने ५७ खेल बराबरीमा सकिएका छन् । यद्यपि, च्याम्पियन्स लिगको नकआउट चरणमा भने एथ्लेटिकोको इतिहास राम्रो छ । २०१४ र २०१६ मा एथ्लेटिकोले नै बार्सिलोनालाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

हान्सी फ्रिलकको नेतृत्वमा रहेको बार्सिलोना उत्कृष्ट फर्ममा छ। टोलीले ला लिगामा ७ अंकको अग्रता बनाउँदै शीर्ष स्थान ओगटेको छ । तर, आजको खेलमा राफिन्हा र फेन्की डी योङ जस्ता महत्वपूर्ण खेलाडीहरू चोटका कारण मैदान बाहिर रहनेछन् । मार्कस रासफोर्ड र १८ वर्षीय युवा स्टार लामिन यामल माथि बार्सिलोनाको आक्रमणको मुख्य जिम्मेवारी रहनेछ ।

अर्कोतर्फ, डिएगो सिमियोनीको एथ्लेटिको मड्रिड पछिल्ला तीन खेलमा लगातार पराजित भए पनि च्याम्पियन्स लिगमा पुनरागमन गर्न चाहन्छ । पेरिसमा बुधबार अर्को रोचक प्रतिस्पर्धा हुँदैछ । जहाँ गत सिजनको च्याम्पियन पीएसजीले लिभरपुलको सामना गर्नेछ । 

यी दुई टोलीबीचको हालसम्मका ६ भेटमा दुवैले ३-३ जित बाँडेका छन् । गत सिजन पीएसजीले लिभरपुललाई पेनाल्टी सुटआउटमा हराउँदै बाहिर पठाएको थियो, जसको बदला लिन लिभरपुल बुधबार मैदान उत्रनेछ । लुइस एनरिकेको पीएसजी लिग-आ को शीर्ष स्थानमा छ र टोलीले राउन्ड अफ १६ मा चेल्सीलाई समग्रमा ८-२ को भारी गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । 

पीएसजीका लागि उस्मान डेम्बेले मुख्य हतियार हुनेछन् । लिभरपुलका लागि भने यो सिजन केही कठिन देखिएको छ। टोली हालै एफए कपमा म्यानचेस्टर सिटीसाग ४-० ले पराजित भएको छ । प्रशिक्षक आर्ने स्लटको टोलीमा मुख्य गोलकिपर एलिसन बेकर अनुपस्थित रहनेछन, तर स्ट्राइकर अलेक्जेन्डर इसाक चोटपछि टोलीमा फर्किएका छन् । 

मोहम्मद सलाह लिभरपुलका लागि गोलको मुख्य आशा हुन् । जसले यस सिजन प्रिमियर लिगमा २५ गोल गरिसकेका छन् ।