प्रधानमन्त्री कप : कोशीविरूद्ध बाग्मतीकाे जित

चैत्र २५, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : कोशीविरूद्ध बाग्मतीकाे जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती प्रदेशले कोशी प्रदेशविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेको छ। 

बागमतीका कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र विवेक मगरको विष्फोटक ब्याटिङको मद्दतले बागमतीले सानदार जित दर्ता गरेको हो । जनकपुरको श्रीराम जानकी रंगशालामा बुधबार सम्पन्न प्रधानमन्त्री कपको ३२औं खेलमा बागमतीले कोशी प्रदेशमाथि ७ विकेटको सहज जित हात पारेको छ ।

टस जित्दै बागमतीले फिल्डिङ रोजेपछि कोशीले पहिलो ब्याटिङको निम्तो पाएको थियो । कोशीको ब्याटिङ लाइनअप बागमतीका बलरसामु निरीह देखियो । कोशीको टोली २८ ओभर २ बलमा मात्र ९९ रन जोड्दा अलआउट हुन पुग्यो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक २१ रन बनाए भने अन्य ब्याटरहरूले उल्लेख्य योगदान दिन सकेनन् । 

बागमतीका कप्तान सन्दीप लामिछानेले ७ ओभर २ बलमा ३३ रन खर्चेर ५ महत्वपूर्ण विकेट लिँदै कोशीको ब्याटिङ लाइनअप ध्वस्त पारे । १ सय रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले मात्र ९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्याे । बागमतीको जितमा विवेक मगरले विष्फोटक पारी खेल्दै मात्र २८ बलमा अविजित ६१ रन जोडे । 

जितसँगै बागमतीले नेट रन रेटमा समेत ठूलो सुधार गरेको छ । कोशी प्रदेशको हकमा भने उसले आफ्नो जितको खाता खोल्न सकेन । कोशी प्रदेश २०२४ र २०२५ का संस्करणहरूमा पनि अंक तालिकाको पूछारमा रहेको थियो र यस पटक पनि ७ खेलमा मात्र १ अंकका साथ १०औं स्थानमै सीमित छ ।