
काठमाडौं । यसपटक कोशी प्रदेशको निर्वाचन रोचक बनेको छ ।
बदलिँदो चुनावी समीकरण, मतदाताका परिवर्तित मनोविज्ञान र झापा ५ को भिडन्तले कोशीलाई निर्वाचनको केन्द्रबिन्दु बनाएको छ । विशेषगरी पाँचपटक एउटै निर्वाचन क्षेत्रबाट जितेर चारपटक प्रधानमन्त्री बनिसक्नुभएका केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयर बनिसक्नुभएका बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले कोशीतिरै ध्यान आकृष्ट गरेको छ ।
चुनावी हटस्पट कोशी तथ्यांकमा भने कस्तो देखिन्छ त ? कोशीमा निर्वाचन क्षेत्र, उम्मेदवार, मतदाता कति छन् ? प्रधानमन्त्रीको रेसमा रहेका दुई उम्मेदवार, एकजना पूर्वप्रधानमन्त्री, र अर्का देशकै राजधानी काठमाडौँको पूर्वमेयर । यसैगरी विघटित प्रतिनिधिसभाका सभामुख र उपसभामुखबीचको भिडन्त ।
आफूलाई प्रधानमन्त्री नै प्रक्षेपण गरिरहेका धरान उपमहानगरका अर्का पूर्वमेयर । खेलकुदको भाषामा भन्ने हो भने, कोशी प्रदेश यसपटकको निर्वाचनको ‘ग्रुप अफ डेथ’ हो । १४ वटा जिल्ला रहेको कोशीमा २८ वटा निर्वाचन क्षेत्र छन् । सबैभन्दा बढी मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । झापामा ५, सुनसरी ४, इलाम र उदयपुरमा २-२ निर्वाचन क्षेत्र छन् भने बाँकी ९ वटा जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छन् ।
कुल ५३ लाख ७४ हजार २ सय ८६ मतदाता रहेका कोशीमा १८ लाख २८ हजार २ सय १३ पुरुष र १७ लाख ४६ हजार ७३ महिला मतादाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा छन् । यहाँ ७ लाख ८३ हजार ४३ मतदाता हुँदा दोस्रो धेरै झापामा ७ लाख १३ हजार ५ सय २९ मतदाता छन् ।
सबैभन्दा कम मतदाता तेह्रथुम जिल्लामा छन् । यहाँको मतदाता संख्या केवल ७३ हजार १ सय ३७ छ । कोशीका २८ सिटमा ४ सय ९५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ३६ पुरुष उम्मेदवार हुन् भने महिला उम्मेदवार मात्र ५८ । अर्थात् ८९ प्रतिशत पुरुष उम्मेदवार हुँदा महिला उम्मेदवारको अनुपात जम्मा ११ प्रतिशत छ ।
पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, खोटाङ र उदयपुरका निर्वाचन क्षेत्रमा त एकजना पनि महिला उम्मेदवार छैनन् । यो प्रदेशबाट एकजना अन्य समूहका व्यक्ति पनि उम्मेदवार छन् । कोशीमा ६५ वर्षमाथिका ३८ जना पुरुष उम्मेदवार यसपटक प्रतिस्पर्धामा छन् । यो उमेर समूहमा कुनै पनि महिला उम्मेदवार छैनन् ।
त्यसैगरी ३५ मुनिका भने ४९ पुरुष र ९ जना महिला उम्मेदवार छन् । यही उमेर समूहमा एक जना अन्य समूहका उम्मेदवार छन् । कोशीमा एक हजार ९ सय ७ मतदानस्थल छन् भने ४ हजार २ सय ७० मतदान केन्द्र निर्धारण गरिएको छ । पटक पटक जितेका र प्रतिस्पर्धा गरेका केपी शर्मा ओली, विजयकुमार गच्छेदार, सुनिल शर्मा, ज्ञानेन्द्रबहादुर कार्की, शेखर कोइरालादेखि पहिलोपटक संसदीय राजनीतिमा होमिन खोजेका बालेन्द्र शाह, हर्क साम्पाङ, गणेश कार्कीजस्ता उम्मेदवार यहाँ छन् ।
अघिल्लोपटक समानुपातिकबाट सांसद भई यसपटक जनमतको प्रत्यक्ष परीक्षा दिन उत्रिएका निशा डाँगी, इन्दिरा राना मगर पनि यही प्रदेशका उम्मेदवार हुन् । कोशी प्रदेशमा खासगरी पहिचानको मुद्दा पेचिलो छ । यसका साथै कोशी कटान, बाढी पहिरोलगायत प्राकृतिक विपत्ति यहाँका बासिन्दाका प्रमुख समस्या हुन् । रोजगारी, सडक पूर्वाधारको विस्तार र शिक्षा कोशीका स्थानीयको प्रमुख माग हुन् ।