सीपलाई व्यवसायमा रूपान्तरण गर्दै रामेछापका युवा

गाउँमै आर्थिक स्वतन्त्रता र समाजमा पहिचान निर्माण गर्दै
चैत्र ८, २०८२ |नवराज श्रेष्ठ
सीपलाई व्यवसायमा रूपान्तरण गर्दै रामेछापका युवा

रामेछाप । रामेछापबाट धेरै युवाहरू रोजगारीका लागि विदेश जान्छन् । तर, केही युवाले गाउँमै बसेर पनि सीप र मेहनतले सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन् । 

त्यहाँका युवाहरूले आफ्नो सीपलाई व्यवसायमा रूपान्तरण गर्दै गाउँमै आर्थिक स्वतन्त्रता र समाजमा पहिचान निर्माण गर्दै आएका छन् । तालिम, दृढ इच्छाशक्ति र निरन्तर अभ्यासले गाउँमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण युवाहरू बनिरहेका छन् । 

सुनापति गाउँपालिका-३ अर्चलेका मिलन श्रेष्ठले गाउँमै सीप, मिहिनेत र आत्मविश्वासको बलमा आफ्नै ठाउँमा अवसर सिर्जना गर्नुभएको छ। सिलाइकटाइप्रतिको र"चिलाई व्यवसायमा रूपान्तरण गर्दै उहाँले सुर"मा आधारभूत तालिम पूरा गर्नुभयो र गाउँपालिका नजिकै सानो व्यवसाय थाल्नुभयो । 

सिकाइलाई निरन्तरता दिँदै उहाँले केही महिनाअघि तीन महिने लेभल-२ तालिम पनि सम्पन्न गर्नुभयो । सीपमा आएको निखारसँगै उहाँको व्यवसाय पनि विस्तार हुँदै गएको छ। अहिले उहाँ केवल टेलर्स व्यवसायी मात्र नभइ गाउँमा सीप हस्तान्तरण गर्ने प्रशिक्षकको पनि हुनुहुन्छ। यसले उहाँको आम्दानीमा उल्लेख्य बढेको त छ नै सामाजिक पहिचान पनि बलियो बन्दै गएको छ।

सुनापति गाउँपालिका-४ बेथानकी अन्जना थिङलाई १२ कक्षा पास गरिसकेपछि के गर्ने भन्ने अन्योल थियो । सामुदायिक विकास समाजले सञ्चालन गरेको लेभल-१ तीन महिने तालिमले उहाँको जीवनको दिशा बदलिदियो। तालिम पूरा गरेपछि उहाँले गाउँमै टेलर्स व्यवसाय सुरू गर्नुभयो । राम्रै चलिरहेको व्यवसायले उहाँलाई आर्थिक स्वतन्त्रता दिएको छ ।

मन्थली नगरपालिका-४ सालुका कुमार श्रेष्ठ गाउँमै सफल व्यवसायी बन्नुभएको छ । विदेश जाने योजना बनाइसकेको बेला उहाँले गाउँमै अवसर पहिचान गर्दै एसी-फ्रीज मर्मतको क्षेत्रमा कदम राख्नुभयो । तीन महिनाने तालिमपछि उहाँले काम सुरू गर्नुभयो । 

यसबाट उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । कुमारले रामेछापमा होन्डाई र सिजी कम्पनीको वारेन्टी सेवासमेत दिनुहुन्छ । उहाँको सेवा ओखलढुंगासम्म विस्तारित छ । उहाँले मासिकत औसत ६० हजार आम्दानी गर्दै आउनुभएको छ । सिजनमा यो आम्दानी महिनामा एक लाखसम्म पुग्छ ।

सीप, तालिम र मिहिनेतले गाउँमै व्यवसाय सञ्चालन गरी, आर्थिकरूपमा सशक्त बनेका युवाहरू रामेछापका धेरै छन् । तर, रित्तिँदै गएका गाउँमा बजारको कमी, व्यवसाय विस्तारको लागि झन्झटिलो बैंकिङ प्रकियालगायतका चुनौतीले यस्ता युवाहरूलाई गाउँमा टिकाइराख्न कठिन छ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।