
काठमाडौं । गत चैत ५ गते नै राष्ट्रिय खेलकुद परिषद्ले हङकङ चाइनासँगको नेपाली राष्ट्रिय फुटबल टिमको दशरथ रंगशालामा हुने खेलको लागि स्वीकृति दिएको परिषद्ले जानकारी दिएको छ।
एन्फाले आइतबार दिउँसो भ्रमपूर्ण विज्ञप्ति जारी गरेको भन्दै परिषद्ले हङकङसँगको खेलका लागि स्वीकृति प्रदान गरिसकेको जानकारी दिएको हो। परिषद्ले गत चैत ३ गते एन्फालाई मैदान सञ्चालनका लागि ४५ हजार रूपैयाँ बुझाउन पत्र काटेको थियो।
त्यसको दुई दिनपछि खेल आयोजनाका लागि सामान्य सुरूक्षा व्यवस्थापन गर्न माग गर्दै परिषद्ले एन्फालाई खेल आयोजना गर्न स्वीकृति दिएको थियो। तर, एन्फाले गलत सूचना बाहिर ल्याएको भन्दै परिषद्ले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
नेपाली राष्ट्रिय टिमले भदौ तेस्रो हप्ताछि पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्न लागेको थियो। तर, परिषद्सँग विवादमा उत्रिएको एन्फाले अहिले भने गलत दाबी गरेको जानकारी दिएको परिषद्को विज्ञप्तिमा देखिएको छ। त्यसैगरी, परिषद्ले एन्फाले गर्न लागेको निर्वाचन जिल्ला देखि केन्द्रसम्म तहगत रूपमा गर्नका लागि निर्देशन दिँदै, आफ्नो निर्देशन नमाने कारबाही गर्ने बताउँदै आएको छ।
त्यसका लागि निर्वाचन रोकिएको सूचना आइतबार पाँच बजेसम्म पठाउन निर्देशन दिएको भए पनि आइतबार साँझ एन्फाले परिषद्लाई पत्र पठाएको भनि एक पत्र बाहिरिएको छ। तर, पाँच बजेसम्म एन्फाले राखेपलाई पत्र पठाएको थिएन। अहिले परिषद्ले एन्फा पदाधिकारीलाई छलफलका लागि बोलाएर थप निर्णय गर्ने बताएको छ।
एन्फाले चैत १३ गते कार्यसमितिको निर्वाचन र साधारण सभा झापामा गर्ने गरी तालिका जारी गरिसकेको छ। अहिले खेलाडी र क्लबको आन्दोलनका कारण फुटबल द्वन्द्वमा धकेलिएको छ।
याे पनि :