काठमाडौं । तपाईँले खाना पकाउने ग्यास सजिलै पाइरहनु भएको छ ?
पक्कै पनि नपाएर हैरान हुनु भएको छ । गाह्राे नहोस् पनि किन ? अहिले बजारमा ग्यासको वितरण प्रणाली नै खल्बलिएको छ । नियमित बिक्रीवितरण नहुँदा सेवाग्राही सकस पाइरहेका छन् । एक सिलिन्डर खाना पकाउने ग्यासका लागि काठमाडौं उपत्यकाका सेवाग्राहीले पाइरहेको सास्ती समेटेर सहकर्मी कृपाल गौतमले तयार पारेको यो रिपोर्ट ।
जाजरकोटका कृष्णबहादुर खत्री भक्तपुरको सानोठिमी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्यनरत हुनुहुन्छ । उहाँ क्याम्पसकै छात्रबासमा बस्नुहुन्छ । उहाँको छात्रबासमा खानपानको व्यवस्था आफैं गर्नुपर्ने हुन्छ । तर, उहाँको कोठाको ग्यास सकिएको करिब दुई साता भयो ।
अहिले उहाँले सँगैको कोठामा बस्ने साथीकोमा खाना खाइरहनु भएको छ । तर, यसरी कहिलेसम्मचल्छ ? यत्रो दिन साथीकोमा खाँदा उहाँलाई अफ्ठेरो लागिरहेको छ । आफू दृष्टिविहीन भएकाले आफैं खोज्न जान उहाँलाई असहज हुन्छ । सधैँ ग्यास खोज्नकै लागि अरूको साहरा खोज्दा खोज्दै उहाँलाई दिक्क लागिसकेको छ ।
कोटेश्वरमा ग्यस खोज्दै भौतारीरहनुभएका रहमतुल्लाहको समस्या पनि उस्तै छ । तीन दिनदेखि उहाँको घरमा चुलो बलेको छैन । उहाँले अचेल होटलमा खाना खाइरहनु भएको छ । ग्यास पसलले भोलि भोलि भन्दै टारिरहेको छ । काठमाडौंकै पेप्सीकोलाका विष्णु पाण्डेले भने एक सातामा बल्ल बल्ल ग्यास पाउनुभयो ।
घर वरपरको पसलमा निकै प्रसाय गर्दा पनि उहाँले ग्यास पाउनु भएन र अन्तमा साल्ट टेड्रिङबाट आधा सिलिन्डर ग्यास पाउनुभयो । त्यही 'हाफ' ग्यास लिन पनि उहाँले अफिसमा 'हाफ' छुट्टी नै लिनुपर्यो । व्यापारीहरुका अनुसार अहिले आधा सिलिन्डर ग्यास आइरहेको छ । तर, कम संख्यामा आउने भएकाले उपभोक्ताहरूलाई पालोमा वितरण गरिएको हो ।
उनीहरूका अनुसार नाम लेखेको एक सातामा ग्यास दिनुपर्ने अवस्था छ । नेपाल आयल निगमका अनुसार अहिले मासिक औसत ४५ हजार देखि ४७ हजार टन ग्यास आइरहेको छ । तर, वितरण प्रणाली र उपभोक्तामा बढेको त्रासका कारण समस्या देखिएको हो ।
भारतीय आयल कर्पोरेसनले नियमित आपूर्ति गरिरहँदा समेत सरकारले गत साता आधा सिलिन्डर बिक्री गर्न निर्णय गरेर आफैं त्रास सिर्जना गरिरहेको छ । बजारमा ग्यास आइरहँदा पनि बजारको 'प्यानिक बाइङ' रोक्नका लागि अनुगमन बढाउनुका साथै वितरण प्रणाली सुधार्न निकै ढिला भइसकेको छ ।