प्रधानमन्त्री कप : एपीएफकाे विजयी सुरूवात

चैत्र ८, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : एपीएफकाे विजयी सुरूवात

काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको हो । बागमती प्रदेशका कप्तान सन्दीप लामीछानेले यसै खेलमार्फत पीएम कपमा डब्यू गरे । यस अघि सन्दीपले विभिन्न घरेलु प्रतियोगिता खेले पनि विविध कारणले पीएम कप खेल्ने अवसर पाएका थिएनन् ।

बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतक र सन्दीप जोराको अर्धशतक मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो । खराब सुरुवात गरेको एपीएफले ४३ रन जोड्दा २ विकेट गुमाइ सकेको थियो । 

दिपक बोहोरा ३ र कप्तान रोहित पौडेल ९ रनमा बाहिरिएका थिए । तर तेस्रो विकेटका लागि आसिफ र सन्दीपले एक सय ३ रनको साझेदारी गरे । सोनु देवकोटाले सन्दीपलाई ५२ रनमा बोल्ड गरेपछि शतकीय साझेदारी टुटेको थियो । सुमित महर्जन १८ रनमा बाहिरिए । आसिफले एक सय ५ बलमा १४ चौका र ३ छक्कासहित एक सय १४ रनको शतकिय इनिङ्स खेले ।

बागमतीका रिजन ढकालले ४ विकेट लिए भने इशान पान्डेले २ विकेट हात पारे । २ सय ७२ रनको लक्ष्य पछ्याएको बागमतीले ४५ ओभर एक बलमा अलआउट हुँदै २ सय रन मात्र बनाउन सक्यो । शिवम तिवारीले २५ रन बनाए । इशान पाण्डेले १७ र उत्तम मगरले २६ रन जोडे । 

बिबेक मगरले सर्वाधिक ३४ रन र सुवास खत्रीले २७ रन जोडे । तल्लो क्रममा सुवास र रिजन ढकालबीच ५३ रनको साझेदारी भएको थियो । रिजन २० रनमा अविजित रहे । एपीएफका अभिशेष गौतम र कप्तान रोहितले समान ३-३ विकेट लिए ।