
काठमाडौं । पीएम कपकै अर्को खेलमा बसिर अहमदको सानदार शतकको मद्दतमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गरेको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानको आउटफिल्ड ओसिलो भएका कारण निर्धारित समयभन्दा ढिला सुरू भएको खेल ४७ ओभरमा झारिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो ।
खराब सुरुवात गर्दै ५८ रन जोड्दा शीर्ष ४ ब्याटर गुमाएको आर्मीका लागि पाँचौं विकेटको रुपमा बसिर र भीम सार्कीले ८२ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । भीमले ६२ रनको अर्धशतकीय योगदान दिए । सातौं विकेटका लागि बसिर र नरेन साउँदले ८० रनको साझेदारी गरेपछि आर्मीले सम्मानजनक स्कोर तयार पारेको हो । बसिरले ८६ बलमा ८ चौका र २ छक्काको सहयोगमा एक सय रनको शतकीय इनिङ्स खेले । नरेन २१ रनमा रनआउट रहे ।
पुलिसका सर्वन यादवले ३ तथा राशिद खान र सागर ढकालले समान २-२ विकेट हात पारे । २ सय ४४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको पुलिसले ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । कमजोर सुरुवात गर्दै ७ रन जोड्दा २ विकेट गुमाइ सकेको पुलिसका लागि शंकर राना र राशिद खानले एक सय ४ रनको शतकीय साझेदारी गरे ।
शंकरले ४६ रनको योगदान दिए । राशिद खानले सर्वाधिक ६० रन बनाए । आरिफ शेख ३८ तथा करण केसीले २३ रनमा आउट भए । आर्मीका नरेन साउदले ३ विकेट लिए आकाश चन्दको नाममा २ विकेट रह्याे । जितसँगै आर्मीले २ अंक जोडेको छ । उ १० टोली सहभागी प्रतियोगिताको दोस्रो स्थानमा छ ।
समान अंकसहित एपीएफ शीर्ष स्थानमा छ । प्रतियोगिता अन्तर्गत साेमबार जनकपुरमा हुने खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेश तथा विरगञ्जमा कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्ने छन् ।