
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार सञ्चालन गर्न भारतले अनुमति दिएपछि नेपालमा विरोध भएको छ ।
नेपालको पटक-पटक कूटनीतिक नोट र विरोधलाई बेवास्ता गर्दै भारतको विदेश मन्त्रालयले लिपुलेक पास हुँदै व्यापार सञ्चालन गर्न अनुमति दिएको हो । गत भदौ २ र ३ मा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका बेला दुई देशबीच सीमा व्यापार खोल्ने सम्झौता भएको थियो ।
सोही सम्झौता कार्यान्वयन प्रक्रिया भारतले अघि बढाएको हो । भारतको निर्णयलाई लिएर विरोध भएपछि परराष्ट्र मन्त्रालयमा आइतबार दिनभर छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन । मन्त्रालयका अधिकारीहरूले पनि तत्कालका लागि टिप्पणी गर्न अस्वीकार गरे । सबै परिस्थिति मूल्यांकन गरेर निर्णय गरिने उनीहरूको भनाइ छ ।
नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन हुनु केही दिनअघि भारतले चीनसँग भएको सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । प्रधानमन्त्रीको सपथ लिन तयार रहनुभएका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले पनि गत भदौ १४ गते चीन भ्रमणमा जान लाग्नुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकबारे कुरा उठाउन सम्झाउनुभएको थियो ।