राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्डलाई

चैत्र ८, २०८२ |खेल ब्युरो
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्डलाई

हेटौंडा । हेटौंडामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड युथ स्पोर्टस क्लबले जितेको छ ।

हेटौंडामा जारी कृषि तथा पर्यटन महोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनलमा न्यु डायमन्डले केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३-० को सेटमा पराजित गरेको हो । न्यु डायमन्ड अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बन्यो । उ अघिल्लो संस्करणको उपविजेता टोली समेत हो । 

एकतर्फी जित हात पार्ने क्रममा न्यु डायमन्डले पहिलो सेट २५-१३ दोस्रो सेट २५-१५ र तेस्रो २५-२३ ले आफ्नो पक्षमा पार्यो । उपाधिसँगै न्यु डायमन्डले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता केशवलालले २ लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डायमन्ड क्लबकी सुनिता क्षेत्री घोषित भइन् । 

उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । उत्कृष्ट स्पाइकर न्यु डायमन्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यु डायमन्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यु डायमन्डका कुमार राई घोषित भए ।