
सिरहा । सिरहाको औरही गाउँपालिका-१ स्थित हरकट्टीमा मतदान केन्द्र कायम नगरिए आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदान बहिष्कार गर्ने स्थानीयले घोषणा गरेका छन् ।
यहाँका हरकट्टी र कुन्डलपुरका स्थानीयले मतदान बहिष्कारको घोषणा गरेका हुन् । यसअघि यहाँका मतदाताका लागि दरहियामा मतदान केन्द्र तोकिएको थियो । तर, यो मतदान केन्द्र टाढा पर्ने भन्दै स्थानीयले अगुवाहरूले पहल गरेपछि जिल्ला निर्वाचन कार्यालय, सिरहाले हरकट्टीस्थित श्री आधारभूत विद्यालयमा मतदान केन्द्र थपिदिएको थियो ।
तर, वडाध्यक्ष सुरैतलाल ठाकुर र चार वडा सदस्यले संयुक्त रूपमा मतदान केन्द्र थप्न गरिएको निर्णयविरूद्ध उच्च अदालत, राजविराजमा रिट हालेपछि अदालतले तत्काल यथास्थितिमा राख्न आदेश जारी गरेको छ । यहाँ मतदान केन्द्र नरहने भएपछि स्थानीय आक्रोशित हुन् ।
हरकट्टी र कुन्डलपुरमा ११ सय ५४ मतदाता छन् । मतदान केन्द्रको विषय अन्योल बनेपछि यसविरूद्ध स्थानीयहरू वडा कार्यालयको गेटमा शुक्रबार दुई घन्टा धर्नासमेत दिएका छन् । 'हामी निकै पहल गरेर मतदान केन्द्र तोक्न लगाएका थियौं, तर अदालतको आदेशले हामी अत्यन्तै दुःखी छौं,' उनले भने, 'यो विषय नटुंगिए यो चुनावमा हामी मतदान गर्दैनौं ।'