प्रशासनिक संरचना परिवर्तनपछि तेह्रथुमका सरकारी कार्यालय तितरबितर

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रशासनिक संरचना परिवर्तनपछि तेह्रथुमका सरकारी कार्यालय तितरबितर

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङ्लुङस्थित जिल्ला प्रशासन कार्यालय रहेको ठाउँ सात वर्षअघिसम्म जिल्लाको प्रमुख प्रशासनिक केन्द्र थियो। 

एउटै परिसरभित्र जिल्ला विकास समिति, मालपोत, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रशासन, जिल्ला अदालत, निर्वाचन, जिल्ला हुलाक कार्यालयलगायतका विभिन्न सरकारी अड्डा सञ्चालनमा थिए। त्यसबेला सेवाग्राहीले एउटै भवनको छानामुनि अधिकांश प्रशासनिक तथा न्याय सेवा प्राप्त गर्थे। तर, संघीयता लागू भएसँगै प्रशासनिक संरचनामा आएको परिवर्तनपछि कार्यालयहरू तितरबितर हुँदा हाल सेवाग्राहीले यता र उता धाउनुपर्ने अवस्था आएको छ।

पहिले नागरिकता बनाउनेदेखि सिफारिस लिने, जग्गासम्बन्धी काम, प्रशासनिक प्रमाणपत्र, राहदानी तथा विभिन्न सरकारी कागजातका काम एउटै परिसरमा रहेका कार्यालयबाट लिन सकिन्थ्यो। यसले सेवाग्राहीको समय र खर्च दुवै बचत हुन्थ्यो । तर पछिल्ला वर्षहरूमा प्रशासनिक संरचनामा आएको परिवर्तन र भौतिक संरचनाको पुनर्निर्माणसङ्गै अवस्था फेरिएको छ। 

पुरानो प्रशासनिक भवनलाई भत्काएर नयाँ भवन निर्माण गरिएको छ। यसअघि यहाँ रहेका धेरै सरकारी कार्यालयहरू बजार क्षेत्रका विभिन्न ठाउँमा सारिएपछि सेवाग्राहीले सेवा लिन झन्झटिलो मानेका छन् । पहिले एउटै परिसरबाट पाइने सेवाका लागि अहिले सेवाग्राहीले टाढा-टाढासम्म धाउनुपरिरहेको छ। 

फरक-फरक ठाउँमा रहेका कार्यालय पुग्नुपर्ने भएकाले सेवाग्राहीलाई निकै असजिलो भएको छ। विशेषगरी गाउँबाट सेवा लिन सदरमुकाम आएका सेवाग्राहीहरू विभिन्न स्थानमा छरिएका कार्यालय धाउनुपर्दा केही घन्टामै हुँदै आएका काम समयमै नसकिने र त्यही कामका लागि बास बस्नुपर्दा सयम र खर्च बढेको बताउँछन्।

पुरानो भवनभित्र जिविस, मालपोत, अदालत, निर्वाचन, हुलाक कार्यालय सञ्चालनमा थिए । राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय पनि यही परिसरमा थियो । एउटै परिसरमा धेरै कार्यालय हुँदा सेवाग्राहीलाई सरकारी कामकाज गर्न सहज थियो ।

संघीयता लागू भएपछि भने प्रशासनिक प्रणालीमा परिवर्तन आयो । जिविस खारेज नै भयो । २०७५ सालपछि धेरै कार्यालयहरूको संरचना परिवर्तन भएर यी कार्यालयहरू नयाँ भवन वा अन्य स्थानमा सारिए । यसले प्रशासनिक व्यवस्थापनमा केही सहज भए पनि सेवाग्राहीको पहुँचका हिसाबले भने चुनौती थपिएको जनप्रतिनिधिहरू नै बताउँछन् । 

ज्येष्ठ नागरिक तथा दूरदराजबाट आउने सेवाग्राही तथा शारीरिक रूपमा कमजोर सेवाग्राहीहरूका लागि सेवा लिन सकस छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.