
काठमाडौं । पीएम कपकै अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १ सय ७० रनको विशाल अन्तरले पराजित गरेको छ ।
बागमतीको जितमा इशान पाण्डे र कप्तान सन्दीप लामिछानेले अलराउण्ड प्रदर्शन गरे । मुलपानिको तल्लो मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेको थियो । सुरुवातमा ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९४ रनको योगफल तयार पारेको थियो ।
उत्कृष्ट सुरुवात गरेको बागमतीका लागि शुभ कंशाकार र आशुतोष घिरैयाले ६४ रनको ओपनिङ साझेदारी गरे । शुभ ४४ रनमा बाहिरिए । दोस्रो विकेटका लागि आशुतोष र शिभम तिवारीबीच ४७ रनको अर्को महत्वपूर्ण साझेदारी भयो । शिवम १८ रनमा आउट हुँदा आशुतोषले ५९ रनको अर्धशतकीय योगदान दिए ।
इशान र उत्तम मगरले बागमतीको मध्यक्रमलाई स्थायत्व दिए। यो जोडीले ७९ रनको साझेदारी गर्यो । उत्तम ३० रनमा आउट भए । इसानले सर्वाधिक ७१ रनको अर्धशतकीय योगदान दिए । विवेक मगर २७ रनमा रनआउट हुँदा कप्तान सन्दीप २६ रनमा अविजित गरे । गण्डकीका लागि कमल परियारले २ विकेट हात पारे ।
२ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकी ३१ ओभर ५ बलमा १ सय २४ रनमा अलआउट भयो । अर्जुन कुमालले एक एन्डबाट एङकर होल्ड गर्दै ७४ रन जोडेपनि अन्य खेलाडीबाट साथ पाउन सकेनन् । गण्डकीले अन्तिम विकेटका रुपमा अर्जुनलाई गुमाएको थियो ।
सुवास भण्डारीले २९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीको जितमा रिजन ढकालले ३ विकेट लिए । सन्दीप र इशानको नाममा २-२ विकेट रह्याे । यससँगै बागमतीले २ खेलमा १ जितसहित २ अंक जोडेको छ । उ तालिकाको तेस्रो स्थानमा छ । गण्डकीले भने हारसहित प्रतियोगिताको सुरुवात गर्यो ।