
काठमाडौं । पश्चिम एसियामा युद्ध सुरू भएयता पछिल्ला २३ दिनमा २१ सयभन्दा बढी बालबालिकाको मृत्यु वा घाइते भएको तथ्यांक युनिसेफले सार्वजनिक गरेको छ ।
युनिसेफका सहायक कार्यकारी निर्देशक टेड चाइबानले युद्धका क्रममा इरानमा २ सय ६, लेबनानमा १ सय १८, इजरायलमा ४ र कुवेतमा १ जनाको मृत्यु भएको बताउनुभएको हो । युद्ध सुरू भएयताका हरेक दिन औसत ८७ बालबालिकाको मृत्यु वा घाइते हुने गरेको र युद्ध जारी रहँदा यो संख्या अझ बढ्ने उहाँको भनाइ छ।
राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय-युएनएचसीआरले इरानमा ३२ लाख मानिसहरू विस्थापित भएकामा ८ लाख ६४ हजार बालबालिका रहेको जनाएको छ । लेबनानमा पनि १० लाख विस्थापित भएकामध्ये ३ लाख ७० हजार बालबालिका रहेको युनिसेफको भनाइ छ ।
कार्यकारी निर्देशक चाइवानले तत्कालै द्वन्द्व अन्त्य गर्न, सर्वसाधारण तथा सार्वजनिक पूर्वाधारको रक्षा गर्न, राहतमा पहुँच सहज बनाउन र तत्कालै आर्थिक सहयोग उपलब्ध गराउन माग गर्नुभयो । द्वन्द्वले शैक्षिक क्षेत्रमा पनि ठूलो असर गरेको युनिसेफले जनाएको छ ।
युद्धको झन्डै एक महिना हुन लाग्दा यसको प्रभाव विश्व अर्थतन्त्र मा ठूलो र ग्यास, तेल र इन्धनमा मुल्यवृद्धिका अतिरिक्त औषधिजस्ता आधारभूत सामग्रीको अभाव भएको उहाँले बताउनुभयो । यसैबीच युद्धको २५ औं दिन मंगलबार इरानले तेलअभिभसहित विभिन्न शहरमा मिसाइल प्रहार गरेको छ ।
आक्रमणबाट तीनवटा आवासीय भवनमा ठूलो क्षति पुगेको छ । तेलअभिभमा कम्तिमा ६ जना घाइते भएको इजरायलको राष्ट्रिय आपतकालीन सेवा संयन्त्रले जनाएको छ । इजरायली सेनाले पनि दक्षिण लेबनानमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहविरुद्धको सैन्य अभियान जारी राखेको छ ।
त्यहाँका केही बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न चेतावनी दिइएको छ । पश्चिम एसियाका देशहरूतर्फ समेत ड्रोन र मिसाइल प्रक्षेपण बढिरहेको छ। साउदी अरबको रक्षा मन्त्रालयले देशका विभिन्न भागतर्फ पठाइएका दर्जनौं ड्रोन आफ्ना वायु प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेको छ । कुवेतले पनि आफ्नो देशलाई लक्षित गरेर मिसाइल प्रहार भएको बताएको छ ।