
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठनको गृहकार्य तिव्र बनाइरहँदा मन्त्रिपरिषद्मा समेटिने मन्त्रीहरू टुङ्याउन नेताहरूले छलफल गरिरहेका छन् ।
रास्वपा उच्चस्रोतका अनुसार गृहमा डीपी अर्याल र अर्थमा स्वर्णिम वाग्लेले नेतृत्व गर्ने करिब निश्चित बनेको छ । यस्तै सुनिल लम्साललाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी छ । सोविता गौतमलाई सभामुख बनाउने कि मन्त्री भन्ने तय भैसकेको छैन । गौतम सभामुख बनेमा कानुनमन्त्रीमा यज्ञमणि न्यौपानेलाई लैजाने तयारी छ ।
वरिष्ठ नेता शाहले संसदीय राजनीतिमा छिर्नासाथ प्रधानमन्त्रीको नेतृत्व गर्ने भएकोले केही अनुभवी र विज्ञ नेताहरूलाई मन्त्री बनाउने गरी सूची तयार भइरहेको श्रोतले जानकारी दिएको छ । पार्टीका सांसदहरूको बायोडाटा लिएर सभापति लामिछाने र वरिष्ठ नेता शाहको सचिवालयले विज्ञता पहिचान गरिरहेको छ ।
सांसदहरूले आफूले काम गरेको क्षेत्र र प्राथमिकता राखेर बायोडाटा केही दिन अघि नै बुझाएका थिए । तर, मन्त्री को को बन्दैछन् भन्नेबारे नेताद्वय बाहेक अरूलाई केही भनिएको छैन । सरकार गठनको तयारीका लागि शीर्ष नेतृत्वबीच छलफल भइरहेको भनिएको छ।
सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहितका नेताहरू परामर्शमा छन्। तर, यी छलफल कहाँ कसरी चलिरहेको छ भन्नेबारे उनीहरूले खुलाएका छैनन्। बैठकमा रास्वपा नेता शिशिर खनालसहितका नेता पनि सहभागि छन्।
वरिष्ठ नेता बालेन्द्र शाह छलफलमा सहभागी भएको समाचार भने अहिलेसम्म छैन। प्रतिनिधि सभाका सदस्यहरूको सपथ १२ गते बिहीबार हुँदैछ । रास्वपाले १२ गते नै दलको नेता चयनका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकले संसदीय दलको नेता चयनका लागि पार्टीको विधानमा संशोधन गर्नुपर्ने देखिए त्यसका लागि प्रक्रिया पूरा गर्ने र संसदीय दलको बैठक त्यसै दिन राख्ने तयारी छ।
दलको नेतामा अन्यको दाबी नभएकाले बालेन्द्र शाह सर्वसम्मत चयन हुने निश्चित छ। यसकारण पनि संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार विधान संशोधन गर्नु नपर्ने पनि हुन सक्ने रास्वपाका नेताहरूको तर्क छ। तर, यसबारे निर्णय केन्द्रीय समितिले नै लिने भनिएको छ।
१३ गते वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको सपथ लिने तय भइसकेको छ । प्रतिनिधि सभामा रास्वपाका १ सय ८२ सांसद छन् ।