प्रधानमन्त्री कपमा पुलिस क्लबकाे पहिलो जित

चैत्र १०, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कपमा पुलिस क्लबकाे पहिलो जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ। 

विभागीय डार्बीमा पुलिसले नेपाल एपीएफ क्लबमाथि १ सय ८५ रनको एकपक्षीय जित दर्ता गरेको हो । पहिलो इनिङ्समा पीएम कप इतिहासकै उच्च योगफल तयार पारेको पुलिसले रन अन्तरका आधारमा प्रतियोगिताकै चौथो ठूलो जित हासिल गर्यो ।

मुलपानीको माथिल्लो मैदानमा टस जितेर फिल्डिङ रोज्नु एपीएफका लागि फलदायक हुन सकेन । सुरूवातमा ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५५ रनको योगफल तयार पारेको थियो । जुन पीएम कप इतिहासकै सर्वाधिक योगफल हो । 

यसअघि एपीएफले पीएम कप २०१८ मा मधेश प्रदेशविरुद्ध ३ सय ३९ रन जोडेको थियो । उसले आठ वर्षपछि आफ्नै रेकर्ड तोडेको हो । ओपनर कुशल भुर्तेल चल्न नसकेपनि दोस्रो विकेटका लागि दिनेश खरेल र अमित श्रेष्ठले ९२ रनको साझेदारी गरे । अमितले ३९ रनको योगदान दिए । 

दिनेशले ६० रनको अर्धशतकीय इनिङ्स खेले । राशिद खाना ४४ रनमा पेवलियन फर्किए । पाँचौं विकेटका लागि शंकर राना र कप्तान आरिफ शेखबीच ७६ रनको अर्को अर्धशतकीय साझेदारी भयो । शंकरले सर्वाधिक ६१ रन बनाए भने आरिफले ५० रन बनाए । दिल्साद अली ५१ रनमा अविजित रहे । एपीएफका कमलसिंह ऐरी र अमरसिंह राउटेलाले २-२ विकेट लिए ।

३ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १ सय ७० रनमा अलआउट भयो । आसिफ शेखले १८, सन्दीप जोराले २४ र कप्तान रोहित पौडेलले ११ रन मात्र बनाउन सके । नवौं विकेटका लागि नन्दन यादव र कमलसिंह ऐरीले ४९ रनको साझेदारी गरेपनि पर्याप्त भएन । कमलले ३५ रन बनाए । नन्दन ४४ रनमा अविजित रहे । पुलिसका लागि ललित राजवंशीले ३ तथा करण केसी, राशिद खान र दिनेश खरेलले सामन २-२ विकेट लिए ।

यससँगै २ खेलमा १ जितसहित २ अंक जोडेको पुलिस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंकसहित एपीएफ पाँचौं स्थानमा छ ।