भिजिविलिटी नपुग्दा भरतपुर विमानस्थल बन्द, सबै उडान रद्द

माघ १६, २०८२ |राजु चौधरी
भिजिविलिटी नपुग्दा भरतपुर विमानस्थल बन्द, सबै उडान रद्द

चितवन । खराब मौसमका कारण शुक्रबार चितवनको भरतपुर विमानस्थल बन्द भएको छ ।

उडानका लागि भिजिविलिटी नपुगेपछि शुक्रबारका सबै उडान रद्द गरिएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो । न्यूनतम भिजिविलिटी ५ हजार मिटर आवश्यक हुनेमा शुक्रबार दुई हजार ५ सय मात्रै पुगेको थियो । 

भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक सातवटा उडान हुँदै आइरहेको छ । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ । भरतपुर विमानस्थल हुँदै दैनिक पाँच सयभन्दा बढी यात्रुहरू चितवन-काठमाडौं र पोखरा आवातजावत गर्दै आइरहेका छन् । 

हवाइ जहाजमार्फत यात्रा गर्ने यात्रुले चितवनबाट काठमाडौं जाँदा ४ हजार ६१५ रूपैयाँको टिकट काट्नु पर्नेछ भने काठमाडौंबाट चितवन आउँदा ४ हजार ७१५ रूपैयाँ टिकट शुल्क रहेको छ । 


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।