
काठमाडौं । काठमाडौंको मण्डीखाटारमा जारी तेस्रो संस्करणको मण्डीखाटार एमेच्योर टेनिस प्रतियोगितामा बुधबार विभिन्न उमेर समूहका रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।
मंगलबारदेखि सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चल्ने छ । प्रतियोगिताको पहिलो दिन ५५ वर्षमाथि, ४५ वर्षमाथि र ३५ वर्षमाथि सिंगल तथा डबल्सतर्फका खेलहरू भएका थिए । ५५ वर्षमाथिको एकलतर्फ प्रदीपबहादुर शाह, नवाङ लामा, शिव सेढाइँ र बाबु कार्की विजयी भए ।
प्रदीपले प्रबिन बैद्यलाई ६-३, ६-३ ले पराजित गर्दा नवाङ लामाले मनोज श्रेष्ठलाई ६-२, ६-० ले हराए। शिव सेढाईले राजु गुरुङमाथि ६-०, ६-१ को सहज जित निकाले भने बाबु कार्कीले बाल गुरुङलाई ७-६, ६-२ ले हराए । ३५ वर्षमाथि समूहमा प्रवेश पन्त र सन्तोष भण्डारी विजयी भए।
प्रवेशले समीर अधिकारीलाई ६-१, ६-१ ले हराए भने हर्क सिंह धामीविरुद्ध सन्तोष भण्डारी वाकओभरमार्फत अघि बढे । यसै समूहमा बेद तामाङले सबिन श्रेष्ठलाई ६-३, ६-३ ले हराउँदै अर्को चरणमा स्थान बनाए । ४५ वर्षमाथिको एकलतर्फ रणजीत बस्नेत, मेगेन्द्र गिरि, सिमान्त गुरुङ, अमित गुरुङ र माधव थापा विजयी भए ।
डबल्सतर्फ पनि प्रतिस्पर्धा निकै रोमाञ्चक देखियो । ५५ वर्षमाथिको डबल्समा शिव सेढाई र हिमाल शाह, सुनील गुरुङ र सुरज श्रेष्ठ, उत्तम बोगटी र सञ्जय झा तथा गोपाल मानन्धर र प्रबिन बैद्यको जोडी विजयी बने । ४५ वर्षमाथिको डबल्सतर्फ सूर्य गिरि र सञ्जीव श्रेष्ठ तथा फुरी शेर्पा र पासाङ शेर्पा विजयी बने ।
अमृत गुरुङ र बलराम सापकोटाको जोडीले महेस स्वाँर र राक्पे सेर्पाको जोडीविरुद्ध ६-० र ६-२ को नतिजा हात पारे ।