
काठमाडौं । अवैध रुपमा काठमाडौं भित्रिएको १७५ क्रेट केरा व्यवसायीले जफत गरेका छन् ।
जफत गरेको केरा पशुपति वृद्धाश्रम, मस्जिद र पशुपतिका बाँदरलाई वितरण गरिएको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाले जानकारी दिनुभयो । भारतबाट अवैध रुपमा केरा ल्याएको विषयमा कुलेश्वरका व्यवसायीले प्रहरीलाई खबर गरेपछि अवैध केरा ल्याउने व्यापारी भागेका थिए ।
भित्रिएको केरामा कुनै विषादी नभेटिएपछि वितरण गरिएको हो । सरकारले गत पुसबाट भारतीय केरा ल्याउन अनुमति दिएको छैन । भारतीय केरामा टी फोर नामको रोग भएको भन्दै आयात रोकिएको हो । यता व्यवसायीहरुले भने आयात खोल्न माग गर्दै आएका छन् । भारतीय केरामा लागेको बन्देजले खुद्रा बजारमा प्रतिदर्जन केराको मूल्य ३ सय रुपैयाँसम्म पुगेको छ ।