
काठमाडौं । खरिद-बिक्रीपश्चात् भुक्तानीमा प्रयोग गरिने चेक उधारोका लागि प्रयोग हुन थालेपछि यसको दुरुपयोग बढेको छ ।
खातामा रकम नै नभइ चेक जारी गर्ने प्रवृत्ति बढ्दै जाादा चैत ११ गतेसम्म १५ हजार ८ सय चेक बाउन्समा परेका छन् । गलत कामका लागि चेकको प्रयोग बढेर यसले समस्या निम्त्याउन थालेपछि राष्ट्र बैंकले चेकबाट हुने कारोबार कम गर्ने योजना बनाएको छ ।
चेक साधारणतया कारोबार गरेपछि त्यसको रकम भुक्तानी गर्न जारी गरिने उपकरण हो । तर, उधारो कारोबारका लागि समेत दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । खातामा रकम नभइकन खातावालाले चेक काट्ने गरेका छन् । यसरी चेक साट्दा रकम नपाएपछि यसले चेकप्रतिको अबिश्वास बढाउनेमात्रै हैन, खातावालालाई नै कालोसूचीमा पुर्याएको छ ।
कालोसूचीमा परेकाहरूले बैंकबाट थप ऋण लिन नपाउनेमात्रै हैन सामाजिक प्रतिष्ठासमेत बिग्रने गरेको छ । चेक बाउन्सका घटना बढ्दै गएपछि सरकारले गत वर्ष बैकिङ कसुर ऐन २०६४ संसोधन गर्दै यसअघि सात दिनभित्र चेकमा रकम जम्मा नगरे कालोसूचीमा जाने गरेकामा ४५ दिन पुर्याएको छ ।
यसले पछिल्लो समय चेक बाउन्स हुने क्रम केही कम गराए पनि खातामा पैसा नभइ चेक काट्ने प्रवृत्ति भने रोकिएको छैन । यो वर्षको साउनदेखि चैत ११ सम्म १५ हजार ८ सय ६८ चेक बाउन्स भएका छन् । गत वर्षको चैतसम्म भने २५ हजार ३ सय २३ चेक बाउन्समा परेका थिए ।
यसरी चेक बाउन्स कम हुनुमा कानुनी परिवर्तनसँगै पछिल्लो समय चेकप्रति आम मानिसको गुम्दै गएको विश्वास समेत कारण भएको राष्ट्र बैंकका पूर्वअधिकारीको भनाइ छ । उधारोमा अन्य उपायका अलावा चेक प्रयोग हुने गरेको र यसले समस्या निम्ताएपछि यसबाट हुने कारोबार आगामी दिनमा कम गराउने रणनीतिमा राष्ट्र बैंक छ ।
विज्ञहरु पनि चेकको विश्वसनीयतामा आएको ह्रास कम गर्न उधारोमा अन्य औजारको प्रयोगमा ल्याउनुपर्ने सुझाव दिन्छन् । रकम नभइ चेक काट्ने र ठगी गर्नेजस्ता गलत प्रवृत्ति रोक्न चेकको प्रयोग कम गरेरमात्रै नभइ वित्तीय शिक्षासमेत विस्तार गर्न जरुरी छ, जसले हरेक नागरिकलाई वित्तीय औजारको सही प्रयोग गर्न सिकाओस् ।