
झापा । नयाँ वर्षको सुरूवातसँगै पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, जातपुरिया, गनगाईलगायत आदिवासी समुदायको सिरूवा पर्व सुरू भएको छ ।
वैशाख १ गतेदेखि तीन दिनसम्म मनाइने सिरूवा पर्वले आदिवासी बस्तीमा हर्षोल्लास छाएको हो । वैशाख १ गते सिरूवा पर्वको पहिलो दिन 'पानी सिरूवाका दिन एकआपसमा पानी छ्यापाछ्याप गरेर खेल्ने चलन छ ।
बिहानै ठूलाबडाको खुट्टामा पानी राखेर शीर झुकाएर आशीर्वाद लिने तथा ठूलाबडाले आफूभन्दा सानाको टाउकोमा पानी राखेर आशीर्वाद दिने चलन छ । आपसमा पानीले भिजाउँदा नयाँ वर्षभरी शीतलता प्रदान गर्ने, शरीरमा नयाँ उमङ्ग र ऊर्जा प्रदान हुने विश्वासका साथ पानी सिरूवा खेल्ने चलन छ ।
वैशाख २ गते आपसमा हिलो छ्यापाछ्याप गरेर काद सिरूवा खेलिन्छ । आफूभन्दा ठूलासँग माटोको टीका लगाएपछि काद सिरूवा खेल्न सुरू गरिन्छ । आदिवासी भूमिपुत्र राजवंशी जातिले काद सिरूवाको दिन कुल देवताको पूजापाठ गर्ने चलन छ ।
सोही दिन नजिकैको नदी वा तलाउमा गएर 'घाटोसरी' माताको पूजा गर्ने चलन पनि रहेको छ । त्यस्तै वैशाख ३ गते 'रंग सिरूवा' खेल्ने चलन छ । वर्षभरि जीवन विभिन्न रङजस्तै रङ्गीन होस् भन्ने कामना गर्दै आपसमा रङ लगाईदिएर रंग सिरूवा खेल्ने चलन रहेको छ ।
सिरूवा राजवंशी समुदायको सबैभन्दा ठूलो पर्व हो । वैशाख पहिलो दिन १ गते पानी सिरूवा खेलेपछि चना-भुजा, दालको बरी र अघिल्लो वर्ष फलेका ७ वटा सब्जी एकै ठाउँमा मिसाएर पकाएको तरकारी खाने चलन छ ।