
काठमाडौं । हिजोआज तपाईँ टेलिभिजन या मोबाइलको स्क्रिनमा सबभन्दा बढी के हेर्नु हुन्छ ?
अनेक हाउभाउमा मतदाता फकाइरहेका उम्मेदवार नै हेर्नु हुन्छ होला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि फरक क्षेत्रमा काम गरेर ख्याति कमाएका विभिन्न व्यक्तिहरू उम्मेदवार बनेका छन् । फरक क्षेत्रमा पहिचान बनाएर चुनावी मैदानमा उत्रिएका कलाकार, खेलाडी, उद्योगी व्यवसायी र पूर्वसुरक्षाकर्मीलाई समेटेर सहकर्मी किरण पौडेलले तयार पारेको रिपोर्ट ।
नीति निर्माण गर्ने थलो संसद्मा पुग्न कलाकारिता क्षेत्रबाट अभिनेता, अभिनेतृदेखि निर्माता– निर्देशकसम्म मैदानमा छन् । र्यापरको पहिचानबाट काठमाडौंको मेयर बन्नुभएका बालेन्द्र शाह झापा-५ बाट मैदानमा हुनुहुन्छ । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणासहित पूर्वप्रधानमन्त्री केपी ओलीसँगको प्रतिस्पर्धाका कारण उहाँ निकै चर्चामा हुनुहुन्छ ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट अभिनेतृ निशा अधिकारी चुनावी दौडमा हुनुहुन्छ। उहाँले गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिनुभएको हो । पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, चर्चित गायक प्रकाश सपुत, अभिनेतृ तथा सञ्चालिका रिमा विश्वकर्मादेखि डा. रूपक घिमिरेसम्म समानुपातिक सुचीमा छन् ।
डेढ दर्जनभन्दा धेरै उद्योगी व्यवसायी संसदीय निर्वाचनका लागि चुनावी मैदानमा छन् । नेपालकै धनाढ्यमध्येका एक व्यवसायी विनोद चौधरीले २०७९ मा जिते कै क्षेत्र पश्चिम नवलपरासीको क्षेत्र नम्बर-१ बाट फेरि उम्मेदवारी दिनुभएको छ । उहाँले नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएको हो ।
त्यस्तै स्याङ्जा-१ बाट भरतराज ढकाल, धादिङ-१ मा रमेश धमला र धादिङ-२ मा कृष्ण रिजाल पनि चुनावी दौडमा हुनुहुन्छ । रूपन्देही-२ मा चुन्नप्रसाद शर्मा, मोरङ-३ मा मेडिकल व्यवसायी सुनील शर्मा , काठमाडौं-९ मा व्यवसायी डिपी अर्याल, डोल्पामा व्यवसायी धनबहादुर बुढाले उम्मेदवार हुनुहुन्छ । व्यवसायी वीरेन्द्र महतोले सिराहा-४ बाट मैदानमा हुनुहुन्छ । काभ्रे-२ मा ज्योत्सना सैँजू मैदानमा हुनुहुन्छ ।
यसपाली पूर्वखेलकुद मन्त्री, खेल सङ्घका अध्यक्ष, प्रशिक्षक, खेलाडी, कमेन्टेटरलगायतले उम्मेदवारी दिएका छन् । जेन-जी आन्दोलनपछि गठित सरकारका युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ता सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा हुनुहुन्छ । नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई नेपाली कांग्रेसले बैतडीको टिकट दिएको छ ।
बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी अजय कुशवाहा बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नुभएको छ । राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई रास्वपाले समानुपातिकमा राखेको छ । क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिनाले काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी दिनुभएको छ ।
रमाइलो त के भने यसपालि पूर्व प्रहरी महानिरीक्षकदेखि प्रहरी नायव निरीक्षकसम्म निर्वाचनमा उम्मेदवार बनेका छन्। पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यसपटक बारा ४ बाट चुनावी मैदानमा हुनुहुन्छ । नवलपरासी क्षेत्र नम्बर २ बाट पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान उठ्नु भएको छ ।
कपिलवस्तु-२ बाट पूर्व एसएसपी बिक्रमसिंह थापा चुनावी मैदानमा हुनुहुन्छ । पूर्व कर्णेल रघुवीरराज थापा ललितपुर-२ बाट मैदानमा हुनुहुन्छ । पूर्व कर्णेल राजेश चन्द दार्चुलाबाट उम्मेदवार हुनुहुन्छ । कपिलवस्तु-२ बाट पूर्व एसएसपी बिक्रमसिंह थापा चुनावी दौडमा हुनुहुन्छ ।
त्यस्तै, झापाबाट पूर्व प्रहरी शम्भु सुस्केरा पनि मैदानमा हुनुहुन्छ । त्यस्तै, गुल्मी-२ बाट हालै अवकाश भएका पूर्वडीएसपी गोविन्द पन्थी निर्वाचनमा होमिनु भएको छ ।