सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिएसँगै राजनीतिक माहोल तातेको छ ।
साम्पाङले धरान नगरप्रमुखबाट राजीनामा दिएर सुनसरी-१ बाट उम्मेदवार बनेपछि त्यहाँको चुनावी समीकरणमा नयाँ तरङ्ग पैदा भएको हो । साम्पाङसँगै नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, एमालेबाट टीका माङलेन लिम्बू, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यबहादुर भट्टराई र रास्वपाबाट सरिन तामाङ मौदानमा होमिएपछि आगामी निर्वाचन रोचक हुने आकलन छ ।
एक लाख ५० हजार ३ सय ९३ मतदाता रहेको सुनसरी-१ मा धरान उपमहानगरपालिकाका सबै २० वटै वडा समावेश छन् । यसैगरी बराहक्षेत्र नगरपालिकाका १ देखि ५ सम्म र रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडा पनि यही क्षेत्रमा पर्दछन् । यस निर्वाचन क्षेत्रको धरान उपमहानगरपालिकामा मात्र १ लाख १० हजार ९ सय ३९ मतदाता छन् ।
बराहक्षेत्रमा २८ हजार २ सय ४१ तथा रामधुनीका दुई वडामा ११ हजार २ सय १३ मतदाता छन् । केही वडामा जातीय समूहको बाहुल्य र केहीमा मिश्रित समुदायको बसोबास रहेको यो क्षेत्रमा साम्पाङले संगठन विस्तार तीव्र बनाउँदा अरू पार्टीले घरदैलो अभियान सुरू नै गरेका छैनन् ।
स्थानीय सरकार छाडेर विधायिकी तहमा पुग्ने लक्ष्यसहित अघि बढेका साम्पाङले चुनावी अभियान तीव्र बनाउँदा अन्य दल विस्तारमा सक्रिय देखिने तयारीमा छन् । मतदाताहरू उम्मेदवारको विकासे एजेन्डाभन्दा पनि नीति र नेतृत्व परिवर्तको मुख्य एजेन्डा ल्याउनेलाई मत हाल्ने मनस्थितिमा छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी-१ बाट कांग्रेस-एमालेसहितको गठबन्धनका उम्मेदवार जसपा नेपालका नेता अशोक राई विजयी हुनभएको थियो । राईले १७ हजार ५९ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार गोमा तामाङले १६ हजार ६ सय ६ मत ल्याउँदै ४ सय ५३ मतान्तरको कडा टक्कर दिनुभएको थियो ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत ल्याउनु भएको थियो । त्यतिबेला प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रप्रति असन्तुष्ट मत नयाँ शक्ति रास्वपातर्फ गएको विश्लेषण गरिएको थियो । यस पटक सुनसरी-१ को चुनावी नतिजाबारे अनुमान लगाउन कठिन हुने विश्लेषकको बुझाइ छ ।
हरेकजसो निर्वाचनमा बामपन्थी किल्लाको रूपमा चिनिएको सुनसरी-१ मा साम्पाङको प्रवेशसँगै चुनावी नतिजा कुन दिशातर्फ जाने हो भन्न सर्वत्र चासो र प्रतीक्षाको विषय बनेको छ ।