बागलुङमा दलहरूले बढाए चुनावी गतिविधि, विकास र रोजगारी दिने उम्मेदवारको खोजीमा मतदाता

माघ १०, २०८२ |पोषनाथ अधिकारी
बागलुङमा दलहरूले बढाए चुनावी गतिविधि, विकास र रोजगारी दिने उम्मेदवारको खोजीमा मतदाता

बागलुङ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिक आएसँगै बाग्लुङमा पनि चुनावी सरगर्मी बढेको छ। 

दलहरूले आ-आफ्नै उम्मेदवार बलियो रहेको दाबी गरे पनि त्यहाँका मतदाताहरू भने आफ्नो ठाउँको विकास गर्न सक्ने प्रतिनिधि छान्ने सोचमा छन् । विकास र रोजगारी बागलुङका नागरिकको प्राथमिकतामा छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागी यहाँका मतदाताहरू आफूले खोजे जस्तै नागरिकको हितमा काम गर्ने उमेदवारलाई यो पटक चयन गर्ने सोचमा छन् । 

यहाँका मतदाता विकास निर्माण र यूवा पुस्ताको चाहना अनुरूप काम गर्न सक्ने प्रतिनिधिको खोजीमा छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको बाग्लुङमा क्षेत्र नम्बर १ मा २०७४ मा एमाले उम्मेदवार सुर्यप्रसाद पाठक राष्ट्रिय जनमोर्चासँगको गठबन्धनमा विजयी हुनुभएको थियो । 

२०७९ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित हुनुभयो । त्यसबेला देशभर कांग्रेस, माओवादी र जनमोर्चाले चुनावी तालमेल गरेका थिए । पाठक र केसी दुवै अहिले उम्मेदवार छैनन् । ९८ हजार ४६ जना मतदाता रहेको बागलुङको क्षेत्र नम्बर १ मा अहिले नेपाली कााग्रेसबाट भीम श्रीष, नेकपा एमालेबाट हीराबहादुर केसी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवारको रूपमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्कासहित नौ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । 

उनीहरू सबै आफ्नै पक्षलाई बलियो भएको दाबी गरिरहेका छन् । दलहरूले उम्मेदवार छानिसकेको भए पनि यहाँका मतदाता भने कसलाई मत दिने भन्ने अन्याेलमा नै छन् । पुरानासँग सोचे अनुरूप नहुँदा असन्तुष्ट उनीहरू नयाँसँग पनि स्पष्ट योजना देखिरहेका छैनन् । उनीहरू पार्टीभन्दा माथि उठेर विकास गर्ने, युवाको भावना बोल्ने र रोजगारी सृजना गर्न सक्ने नेताको खोजीमा छन् ।

बागलुङमा कालीगण्डकी किनारमा माझी समुदायदेखि दलित र विपन्न बस्ती पनि छन् । अभावको चाङमा हुर्किएका यहाँका मतदाता आफ्नो दैनिकीमा सुधारको अपेक्षामा छन् । कालीगण्डकी किनारका माझी हुन् या तातोपानी क्षेत्रका दलीत बस्ती यहाँका नागरिकको थुप्रै समस्या छन् समस्याको समाधान गर्ने प्रतिनिधि उनीहरू खाेजिरहेका छन् ।

पूरानासँग पनि असन्तुष्ट र आक्रोसित रहेका बागलुङका मतदाता नयाँ आएका दलहरूसँग पनि स्पष्ट योजना र खाका नहुँदा पूर्णरूपमा विश्वस्त हुन भने सकेका छैनन् ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।