
काठमाडौं । टाइगर कप भलिबलअन्तर्गत पुरूषतर्फ गण्डकी प्रदेश र पर्वत जिल्लाले पहिलो जित हात पारेका छन् ।
माल्दिभ्स भलिबल एशाेसिएशनमाथि ३ सेटको सहज जित हात पार्दै घरेलु टोली गण्डकीले अंकको खाता खोलेको हो । पोखरा रंगशाला भलिबल कोर्टमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्न गण्डकीले खास चुनौतीको सामना गर्नु परेन ।
पहिलो सेट २५-१३ ले आफ्नो बनाएको गण्डकीले दोस्रो सेटमा पनी २५-१४ को सहज नतिजा हात पार्यो । केही प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेपछि गण्डकीले जितको खाता खोल्यो । जितसँगै गण्डकीले २ खेलमा ४ अंक जोडेको छ । शुक्रबार सम्पन्न खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले गण्डकीविरूद्ध ४ सेटको रोमाञ्चक जित हात पारेको थियो ।
माल्दिभ्सको भने यो लगातार दोस्रो हारको विदेशी टोली माल्दिभ्स आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग सोझो सेटमा पराजित भएको थियो । पुरूषतर्फ दिनको दोस्रो खेलमा पर्वत जिल्लाले नेपाल पुलिस क्लबलाई पाँच सेटमा स्तब्ध पारेको छ। सुरुआतबाटै प्रतिस्पर्धात्मक भएको पहिलो सेटमा पर्वतले २५-२२ को जित हात पारेको हो।
त्यसैगरी दोस्रो सेटमा उस्तै रोमाञ्चक स्पर्धा हुँदा पर्वत ३१-२९ ले विजयी भएको हो। पर्वतलाई सोझो सेटमा खेल सुम्पन नदिन पुलिसले तेस्रो सेटमा संघर्षपूर्ण कमब्याक गरेको थियो। २५-२१ को जित निकालेपछि पुलिसले कमब्याक गरेको हो। चौथो सेट पनि पुलिसले २५-१८ जितेर खेल २-२ को रोमाञ्चक अवस्थामा पुगेको थियो। पाँचौ सेटमा भने १५-१३ को जितसहित पर्वतले खेल आफ्ना पोल्टमा पारेको हो।