
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीले २०२६ टी-२० विश्वकपका लागि बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई समावेश गर्ने निर्णय गरेको छ ।
भारतमा सुरक्षा कारण देखाउँदै बंगलादेशले टोली पठाउन अस्वीकार गरेपछि आईसीसीले यो कदम चालेको हो । भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुन लागेको प्रतियोगिताअन्तर्गत बंगलादेशका समूह चरणमा सबै खेल भारतमा खेलिने तालिका थियो ।
आईसीसीले शुक्रबार साँझ बंगलादेश क्रिकेट बोर्ड बीसीबीलाई इमेलमार्फत निर्णयबारे जानकारी गराएको बताइएको छ । बीसीबीले बंगलादेश सरकारबाट भारत भ्रमणको अनुमति नपाएको भन्दै प्रतियोगितामा सहभागी नहुने स्पष्ट पारेको थियो । करीब तीन सातासम्म भएको छलफलपछि आईसीसी बोर्डको आपतकालीन बैठकमार्फत बहुमतका आधारमा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई सामेल गर्ने निर्णय गरेको थियो ।
आईसीसीका अनुसार प्रतियोगिता सुरू हुन थोरै समय मात्र बाँकी रहँदा तालिका परिवर्तन गर्नु व्यवहारिक नभएको निष्कर्ष निकालिएको थियो । भारतमा कुनै ठोस सुरक्षा खतरा नरहेको भन्दै, कारणबिनै तालिका परिवर्तन गर्नु भविष्यका प्रतियोगिताका लागि गलत नजिर बन्न सक्ने चेतावनी पनि दिएको थियो ।
यसैबीच, बीसीबीले यो विषय आईसीसीको विवाद समाधान कमिटीमा लैजाने संकेत गरेको छ । तर आईसीसी बोर्डले पहिले नै प्रतिस्थापनको निर्णय गरिसकेकाले विवाद समाधान कमिटीबाट राहत पाउने सम्भावना कमजोर मानिएको छ । बीसीबी अध्यक्ष अमिनुल इस्लामले भने आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।
उनले २०२५ च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्दा अपनाइएको नीतिसँग यो निर्णय नमिलेको बताएका छन् । जनवरी ३ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ टिमबाट रिलिज गर्न निर्देशन दिएको थियो ।
त्यसपछि भारत-बंगलादेश सम्बन्ध चिसिँदै गएको पृष्ठभूमिमा बीसीबीले आईसीसीलाई भारत भ्रमण असुरक्षित हुने भन्दै पत्राचार गरेको थियो । विश्वकपमा बंगलादेश समूह 'सी' मा थियो र यसका खेलहरू कोलकाता र मुम्बईमा खेल खेल्ने तालिका तय भएको थियो । अब ती सबै खेलहरू स्कटल्यान्डले खेल्नेछ ।
स्कटल्यान्डले फेब्रुअरी ७ मा वेस्ट इन्डिज ९ मा इटाली र १४ फ्रेब्रुअरीमा इंग्ल्यान्डसँग कोलकातामा खेल्ने छ । समूह चरणको अन्तिम खेलमा फेब्रुअरी १७ मा नेपालविरूद्ध मुम्बईमा खेलिने छ ।