सोबिता चितवन आउँदा म तरंगित छैन : रेनु दाहाल

माघ ५, २०८२ |राजु चौधरी
सोबिता चितवन आउँदा म तरंगित छैन : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारबाट तरंगित नभएको प्रतिक्रिया दिनुभएको छ ।

साेमबार भरतपुर महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख दाहालले चितवन-३ मा सोबिता गौतम आउने चर्चालाई आफूलाई कुनै असर नपर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चितवन क्षेत्र नं ३ बाट चुनाव लड्न जाँदै गर्नुभएकी दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृ सोबिता गौतम चुनाव लड्न चितवन-३ मा आउँदा आफू कति पनि तरंगित नभएको बताउनुभयो । 

‘अहिले सामाजिक सञ्जालभरी रेनु कि सोबिता भन्दै चर्चा परिचर्चा छ, सबै तरंगित भयो जस्तो देखिन्छ, तर म कत्ति पनि तरंगित छैन, कोसै न कसैसँग त भिड्नै पर्छ, संविधान सभा निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसंग काठमाडौंमा भिडेकै हो’–दाहालले भन्नुभयो ।

उहाँले विगतमा पनि हेभिवेटसँग चुनाव लडेको भन्दै अहिले महानगरको नेतृत्व गरेर गरेका कामहरूको मुल्यांकन जनताले गर्ने बताउनुभयो । नगर प्रमुख दाहालले बाहिर सामाजिक सञ्जालमा नीति निर्माणको काममा मेयरले गर्न नसक्ने जस्ता तर्क भइरहेको भन्दै आफूले पनि पहिलो संविधानसभाबाट नै संविधान निर्माणको प्रक्रियामा सामेल भइसकेको स्पष्ट पार्नुभयो । 

उहाँले महानगरले सहि नीति निर्माण गरेकै कारण अहिलेसम्म कुनै मुद्दा मामिलामा पराजित हुन नपरेको भन्दै आफू विकास निर्माणसँगै सबै काम लागि पर्ने बताउनुभयो । दाहालले माडी जाने चितवन राष्ट्रिय निकुञ्जको बाटो, मेघौली विमानस्थललगायतका बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । ‘मैले गर्न सक्ने कामको मात्र बाचा गर्नेछु, गर्नै नसक्ने कामको बाचा गर्दिन, जनतालाई अनुभूति हुने काम गर्नेछु’–दाहालले भन्नुभयो ।

दाहालले महानगरको प्रमुख भएर ९ वर्ष काम गर्दा धेरै काम सम्पन्न गर्न सकेको भन्दै केही अपूरा कामलाई महानगरले पूरा गर्ने बताउनुभयो । उपप्रमुख चित्रसेन अधिकारीले नै महानगरको नेतृत्व गरे अघि बढ्ने भएकाले बाँकी काम सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख अधिकारीले दाहालसँग ९ वर्ष मिलेरै काम गरेको भन्दै आफूले सकेको राम्रो काम गर्दै जाने बताउनुभयो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।