स्वास्थ्य सेवा विभागको विवादित आइरन फोलिक एसिड खरिद प्रक्रिया रद्द

विभागका महानिर्देशकको राजीनामा, स्वास्थ्य मन्त्रालयभित्रका चलखेलमाथि गम्भीर छानबिन गर्न सुझाव
कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य सेवा विभागको विवादित आइरन फोलिक एसिड खरिद प्रक्रिया रद्द

काठमाडौं । विवादमा परेपछि स्वास्थ्य सेवा विभागले आइरन फोलिक एसिड खरिद प्रक्रिया नै रद्द गरेको छ । 

खरिद प्रक्रिया बदर गर्ने निर्णय गरेका विभागका महानिर्देशक टंक बाराकोटीले आजै पदबाट राजीनामा दिनुभएको छ । प्रदेश तथा स्थानीय तहले खरिद गर्ने आइरन फोलिक एसिड स्वास्थ्य मन्त्रालयको निर्देशनमा विभागले नै किन्ने प्रक्रिया अघि बढाएपछि विवादमा परेको थियो ।

स्वास्थ्य सेवा विभागले अघि बढाएको आइरन फोलिक एसिड खरिद प्रक्रिया विवादमा परेपछि महानिर्देशक टंक बाराकोटीले राजीनामा दिनुभएको छ । उहाँले प्रक्रिया रद्द गर्दै राजीनामा दिनुभएको हो । विभागले गत साउन ३० गते आइरन फोलिक एसिड खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । 

१५ करोड रूपैयाँ बराबरको ट्याब्लेट खरिद गर्न विभागले प्रति ट्याब्लेट ९३ पैसा लागत अनुमान राखेर प्रकिया अघि बढाएको थियो । जबकी हालै सुदूरपश्चिम प्रदेश सरकारले प्रतिट्याब्लेट ५५ पैसामा खरिद गरेको थियो । त्यसपछि प्रक्रिया विवादमा परेको हो । हामीले गत मंगलबार यसबारे समाचार नै प्रशारण गरेका थियौ । 

रिपोर्टको डिजिटल संस्करण कान्तिपुर टिभीको वेबसाइट र युट्युब च्यानलमा पढ्न र हेर्न सकिन्छ। 

याे पनि :

स्वास्थ्य सेवा विभागको आइरन फोलिक एसिड खरिद प्रक्रिया विवादमा, सेटिङको शंका

विवादमा परेसँगै विभागले खरिद प्रकिया नै बदर गरेको हो । महानिर्देशक बाराकोटीले आफ्नो राजीनामा पत्रमा स्वास्थ्य तथा पारिवारिक कारण देखाउनुभएको छ । तर विभागलाई खरिद प्रक्रिया अघि बढाउन मन्त्रालयबाटै दबाब दिइएपछि राजीनामा दिएको स्रोतको दाबी छ । त्यति मात्र नभएर मन्त्रालयलेसमेत उहाँलाई काममा असहयोग गरेको दाबी स्रोतको छ । यसको संकेत उहाँ आफैंले पनि हामीसँग मंगलबार नै गर्नुभएको थियो।

हामीले कात्तिक १३ गते गते प्रशारण गरेको अर्को समाचारमा स्वयं खरिद शाखा प्रमुखले पनि खरिदसम्बन्धी त्रुटी रोक्दा विभिन्न आक्रमण भएको बताउनुभएको थियो। यस्तोमा आफूलाई सरवा नै गरिए पनि जान तयार रहेको बताउनुभएको थियो ।

स्वास्थ्य सेवा विभागका खरिद शाखा प्रमुख दया पन्तले भन्नुभयाे, 'मैले सार्वजनिक खरिद ऐन नियमावली र अन्य अन्य प्रचलित ऐन कानुनहरूको परिधिभित्र रहेर कसरी हामीले बढी पारदर्शी प्रतिस्पर्धा र कति विश्वासिलो तरिकाले खरिद गर्न सक्छौं भन्ने मेरो जहिले पनि इफोर्ट त्यतातिर हुन्छ। तर यो इफोर्ट हुँदा पनि विभिन्न तत्त्वले प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेर अप्ठ्यारो पार्ने अवस्था मैले देखेँ। र, यसमा एकजनाले मात्र नभएर सबै टिमले यसमा चाहिँ काम गर्‍यो भने हामीले जो यहाँ विभागमा अब अहिले पनि हाम्रो २०८०/८१ को खरिदमा १३-१४ जना निलम्बन भएको अवस्था छ।' उहाँले थप्नुभयाे, 'त्यस्ता त्रुटि देखिए र त्यस्ता त्रुटिसहित हामीले कसैसँग मिलेमतो गर्‍यो भने त्यो त अपराध हो। र, त्यस्तो अपराध हुन दिनु हुँदैन, गर्नुपर्ने हुँदैन भन्ने मेरो मान्यता छ । त्यस्तो चाहिँ रोक्दाखेरी माथि नै विभिन्न आक्रमण (भौतिक आक्रमण होइन) भए । मैले भने मलाई यहाँबाट त्यसो गर्दाखेरि कसैले सरुवा गर्छ भने म यहाँदेखि जान तयार छु।'

अब महानिर्देशकको राजीनामा र खरिद प्रमुखको यो भनाइ सुन्दा जो कोहीले पनि खरिद प्रक्रियामा कति समस्या छ भनेर सहजै अनुमान लगाउन सक्छ । योसँगै एउटा प्रश्न उब्जिएको छ– खरिदमा चलखेल गर्दै दबाब कसले दिन्छ ? पक्कै पनि यो छानबिनको विषय हो ।

स्वास्थ्य मन्त्रालयमा हुने गरेका बेथिति र चलखेलमा संलग्नको पहिचान गरी कारबाही गर्न छानबिन गर्नैपर्छ । किनकी पछिल्ला घटनाक्रम, मन्त्रालय तथा यसअन्तर्गतका निकायका अधिकारीहरूका भनाइ सुन्दा समस्या छ भन्ने सहजै भन्न सकिन्छ । तर छानबिन गर्ने जिम्मेवारी पाएका निकायहरू किन चुप ? प्रश्न यहाँ पनि छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.