भारतका टिनु योहान्नान लुम्बिनी लायन्सको प्रशिक्षकमा नियुक्त

कार्तिक २१, २०८२ |खेल ब्युरो
भारतका टिनु योहान्नान लुम्बिनी लायन्सको प्रशिक्षकमा नियुक्त

काठमाडौं । भारतीय प्रशिक्षक टिनु योहान्नानले दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्सको प्रशिक्षण सम्हाल्ने भएका छन् । 

लुम्बिनीले शुक्रबार एनपीएलको दोस्रो सिजनका लागि साढे १३ लाखमा उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । ४६ वर्षीय टिनुसँग रण्जी ट्रफीमा विभिन्न टिमलाई प्रशिक्षक दिएको अनुभव छ। उनले सन् २०२० देखि २०२३ सम्म केरला क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । 

उनको प्रशिक्षणमा केरला विजय हजारे ट्रफीमा दुई पटक क्वार्टरफाइनल पुगेको थियो । सन् २०२० मा केरला क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नुअघि उनले केरला क्रिकेट एकेडेमीको हाई पर्फरमेन्स सेन्टरमा निर्देशकको भूमिकामा काम गरेका थिए । उनी सन् २०२४-२५ सिजनमा आन्ध्र क्रिकेट टिमको मुख्य प्रशिक्षकको भूमिकामा थिए । 

भारतीय राष्ट्रिय टिमका पूर्व फास्ट बलरसमेत रहेका टिनुले भारतका लागि समान तीन टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसअघि नै लुम्बिनीले भारतका अनुभवी प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरिसकेको छ ।