धनकुटाको देउराली युथ क्लबद्वारा हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत दर्ता

कार्तिक २१, २०८२ |खेल ब्युरो
धनकुटाको देउराली युथ क्लबद्वारा हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत दर्ता

काठमाडौं । धनकुटाको देउराली युथ क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत दर्ता गरेको छ ।

हेटौंडा ६ गौरीटार रंगशालामा शुक्रबार भएको पहिलो खेलमा बर्दियाको जनजागृति युवा क्लबलाई ३-१ ले पराजित गर्दै देउरालीले महत्वपूर्ण ३ अकं जोडेको हो । उसले यसअघिको खेलमा चित्लाङसंग ४-१ को पराजय व्यहोरेको थियो । देउरालीका लागि मिलन लिम्बुले २ र उज्वल राईले एक गोल गरे । 

खेलको सुरूवातमै जनजागृतिका शम्भु थारूले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि १०औं मिनेटमा देउरालीका मिलन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि पुनः मिलनले खेलको ४४औं मिनेटमा र राईले ८९औं मिनेटमा गोल गरेका हुन् । देउरालीका बिशाल तामाङ प्लेयर अफ दि म्याच घोषित भए । 

त्यसैगरी शुक्रबार नै विजय स्पोर्ट्स् क्लब र चित्लाङ एफसीबीचको दोश्रो खेल १-१ गोलको बराबरीमा सकिएको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा बिजय स्पोर्टस्का अरूण थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर दोश्रो हाफमा पुनरागमन गर्दै ७२ औं मिनेटमा चित्लाङका विज्ञान खड्काले खेललाई बराबरीमा ल्याएका हुन् । त्यसपछि पुनः गोल हुन सकेन र दुबै टोलीले १-१ अंक बांडेका हुन। खेलमा चित्लाङका विज्ञान खड्का प्लेयर अफ दि म्याच घोषित भए ।