बैठककाे तयारीमा लुम्बिनी र मधेश प्रदेश सभा

कार्तिक २१, २०८२ |अमरकान्त ठाकुर|अमर क्षितिज भण्डारी
बैठककाे तयारीमा लुम्बिनी र मधेश प्रदेश सभा

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनी हुनबाट जोगिएको एकमात्र भवन हो लुम्बिनी प्रदेश सभा । 

आन्दोलनकारीको निशानामा बाँकी ६ वटै प्रदेशका प्रदेशसभा भवन ध्वस्त हुँदा लुम्बिनी प्रदेश सभा भवन कसोकसो जोगिएको थियो । त्यहाँ अब हिउँदे अधिवेशनको तयारी भइरहेको छ । उता आन्दोलका क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेशसभा अस्थायी मर्मतसम्भार गरी मुख्यमन्त्री चयन प्रक्रिया टुंग्याइएको छ भने विश्वासको मत लिने प्रयोजनका लागि शनिबार प्रदेशसभा बैठक बोलाइएको छ ।

लुम्बिनी प्रदेश सरकारले भदौ ३१ गते वर्षे अधिवेशन अन्त भएको लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने तयारी थालेको छ । हिउँदे अधिवेशनमा छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवासुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन् भने दलित अधिकारसम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक आउने तयारीमा छन् । 

त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन दर्ता हुने र हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । बाँकी ६ प्रदेशसभामा जेन-जी आन्दोलनका क्रममा क्षति पुगे पनि आन्दोलनकारीको संयम र सुरक्षाकर्मीको समन्वयकारी भूमिकाबाट क्षति हुनबाट जोगिएको लुम्बिनी प्रदेशसभाले त्यसयता आप\mना गतिविधिलाई जुन ढंगले अघि बढाउनुपर्ने हो त्यसो गर्न नसकेको कतिपयको बुझाइ छ । तर प्रदेश सरकारले भने यही कात्तिक २२ गते बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशनको मिति तोकेर प्रदेश प्रमुख कहाँ पठाउने तयारी गरेको जनाएको छ ।

उता जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको मधेश प्रदेश सभा भवन मरर्मतसम्भार गरी जसोतसो नियमित अधिवेशन सञ्चालन भइरहेको छ । गत भदौ २४ गते आन्दोलनकारीले आगो लगाएर ध्वस्त बनाएको मधेश प्रदेश सभा भवन मर्मतपछि असोज ७ गतेदेखि बैठक सञ्चालनमा ल्याइएको हो । जेन-जी आन्दोलनपछि मधेश प्रदेश सभाको छैठौ अधिवेशनको ३ वटा बैठक बसिसकेको छ ।

भदौ २८ गते सतिशकुमार सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि अहिले लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार गठन भएको छ । सरकारले कात्तिक २२ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।

Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।