अफगानिस्तानसँग पराजित हुँदै नेपालले हङकङ सिक्सेसको सुरुवात हारबाट गर्‍यो

कार्तिक २१, २०८२ |खेल ब्युरो
अफगानिस्तानसँग पराजित हुँदै नेपालले हङकङ सिक्सेसको सुरुवात हारबाट गर्‍यो

काठमाडौं । नेपालले हारसहित हङकङ इन्टरनेसनल सिक्सेसको सुरूवात गरेको छ । 

शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । राशिद खानले बलिङमा ह्याट्रिक तथा कप्तान सन्दीप जोराले अर्धशतकीय योगदान दिए पनि नेपालले जित हात पार्न सकेन । शरद भेषावकरलाई आराम दिइएको खेलमा सन्दीपले नेपाली टोलीको नेतृत्व गरेका थिए ।

मिसन रोड ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । उसका लागि करिम जनातले ३५ र कप्तान गुलबदिन नायवले २२ रन बनाए । सेदिकुल्लाह पचा १३ रनमा राशिदको सिकार बने त्यसपछि राशिदले शराफुद्दीन अशरफ र इजाज अहमद अहमदजाईलाई गोल्डेन डकआउट गर्दै ह्याट्रिक गरेका थिए । 

फरमानउल्लाह ३० रनमा नटआउट रहे । राशिदले २ ओभरमा २७ रन खर्च गरेर ह्याट्रिकसहित ४ विकेट लिए । १ सय १३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो । सन्दीपले १४ बलमा १ चौका र ८ छक्कासहित ५३ रन बनाए । 

प्रतियोगिताको नियम अनुसार उनी अर्धशतक पुरा गरेपछि रिटायर्ड भएका थिए । लोशक बमले ११ बलमा ११ रन मात्र बनाउन सके । राशिद पनि ११ रनमा बाहिरिए । मोहम्म आदिल आलम ११ र रूपेश सिंह १ रनमा नटआउट रहे । अफगानिस्तानका लागि अहमदजाई र फरमानउल्लाहले समान १-१ विकेट लिए ।

समूह 'ए'मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार दक्षिण अफ्रिका तथा भोलिनै हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।