माछामा आत्मनिर्भर बन्यो झापा, अवैधरूपमा भित्रिएको भारतीय माछाले गर्दा भने किसानलाई मर्का

कार्तिक २१, २०८२ |रमा दाहाल
माछामा आत्मनिर्भर बन्यो झापा, अवैधरूपमा भित्रिएको भारतीय माछाले गर्दा भने किसानलाई मर्का

झापा । कुनै समय भारत र बंगलादेशबाट आयातित माछामा निर्भर झापा पछिल्लो समय माछामा आत्मनिर्भर बनेको छ । 

यहाँका अधिकांश किसान आफ्नै खेतमा पोखरी खनेर व्यवसायिक माछापालनमा रमेका छन् । माछापालनतर्फ किसानको आकर्षण बढ्दै जाँदा झापा माछामा आत्मनिर्भरमात्र बनेको छैन, अन्य जिल्लाहरूमा निकासी गर्न पनि सफल भएको छ । तर अवैध रूपमा भित्रिएका भारतीय माछाले बजार भने बिग्रिएको छ ।

झापा विर्तामोडका युवा शैलेन्द्र सिटौलाले १३ वर्षदेखि ८ बिघा खेतमा माछापालन गर्नुभएको छ । अन्य व्यवसाय सँग-सँगै माछापालनमा होमिएका सिटौलाको विर्तामोडस्थित पोखरीमा माछा खरिद गर्न सुनसरी र मोरङसम्मका व्यापारीहरू आइपुग्छन् । तर, भारतबाट भन्सार छलेर ल्याइने माछासँग प्रतिस्पर्धा गर्नुपर्दा आफूजस्ता थुप्रै किसानले बजार अभाव भोग्नुपरेको सिटौलाको गुनासो छ ।

त्यस्तै, सशस्त्र प्रहरीबाट सेवा निवृत्त भएपछि कमल गाउँपालिकाका रमेश थापाले १२ बिघा जमिनमा पोखरी बनाई माछा पालन सुरू गर्नुभएको छ । पछिल्ला केही वर्षयता माछापालनमा रमाएका थापा यो व्यवसायलाई अझै विस्तार गर्ने सोंचमा हुनुहुन्छ ।किसानमा माछाप्रतिको लगाव बढ्दै जाँदा यसको व्यापारिक दायरा पनि फराकिलो हुँदै गएको छ । 

यहाँ उत्पादित पंगास जातका माछा व्यापारीहरूले पूर्वका अधिकांश जिल्लामा पुर्‍याएर बिक्री गरिरहेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार, झापामा हरेक वर्ष कार्प प्रजातिका करिब १ हजार ८ सय ४० मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । त्यस्तै पंगास प्रजातिका माछा प्रतिहेक्टर २५ टनसम्म उत्पादन हुने गरेको केन्द्रका अधिकारी बताउँछन् ।

झापामा हाल करिब ३ सय ८५ हेक्टर क्षेत्रफलमा माछापालन भइरहेको छ । जसमा सबैभन्दा बढी पंगास प्रजातिका माछापालन गरिन्छ । माछापालनले यहाँका किसानलाई नयाँ सम्भावना र स्थायी आम्दानीको बाटो खोलिदिए पनि आयातित माछासँग प्रतिस्पर्धा गर्न नसक्दा कतिपय किसान यो व्यवसायबाट पलायनसमेत हुँदै गएका छन् ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।