
काठमाडौं । नेपाल फुटबल खेलाडी संघले, आफूहरूले एन्फा र क्लबलाई तत्काल लिगको तयारी सुरू गर्न पुन: आग्रह गरेको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै खेलाडीको आन्दोलन यतिमै रोकियोस् भन्ने चाहेको उल्लेख गरेको हो । खेल्न पाउनु खेलाडीको अधिकार भएकाले पूर्वतालिका अनुसार आगामी पुस ९ गते सहिद स्मारक 'ए' डिभिजन लिग गर्न एन्फा र क्लबले सम्वन्य गर्नुपर्ने माग संघको छ ।
खेलाडीले बिहिबार 'ए' डिभिजन लिगको माग गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा धर्ना दिएका थिए । एन्फाले खेलाडीलाई प्रवेशमा रोक लगाएको थियो । संघले, खेलाडीले सडकमा होइन मैदानमा खेल्ने हो र आफूहरूको चाहना आन्दोलन कदापि नभएको भन्दै तत्काल समस्या समाधानको माग गरेको छ ।
खेलाडी संघले एन्फालाई एक साताको अल्टिमेटमसमेत दिएको छ । खेलाडीका मागको वेवास्ता गरे आन्दोलन अर्को चरणमा प्रवेश गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एन्फाले लिनुपर्ने चेतावनी पनि संघले दिएको छ । यस्तै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फुटवलरको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गरेर संघले खेलाडीको रोजी रोटीसँग जोडिएको 'ए' डिभिजन लिग तीन वर्ष पुग्दा पनि नहुनु दुख:द भएको उल्लेख गरेको छ । आफ्नै संघविरूद्ध खेल्न पाउँ भनि खेलाडी सडकमा उत्रनु लज्जाको विषय भएको विज्ञप्तिमा उल्लेख छ । यस विषयमा एन्फा गम्भीर भएर समाधान खोज्न संघले आग्रह गरेको छ । खेलाडीको हकका लागि भएको यो विरोधमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको पूर्ण साथ रहने जनाइएको छ ।