बागमतीमा प्रदेश सभाका लागि नयाँ संरचनाको खोजी, गण्डकीमा कृषि मन्त्रालयको सभाहलमा बैठक बस्ने

कार्तिक २१, २०८२ |भुपाल गुरुङ|बालकृष्ण अधिकारी
बागमतीमा प्रदेश सभाका लागि नयाँ संरचनाको खोजी, गण्डकीमा कृषि मन्त्रालयको सभाहलमा बैठक बस्ने

काठमाडौं । गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा बागमती प्रदेश सभाको सचिवालय भवन आगजनीमा खरानी बन्यो । 

प्रदेश सभाको नयाँ भवन ध्वस्त भएपछि हेटौंडा उपमहानगरपालिका कार्यालय परिसरभित्र रहेको सभाहलमा प्रदेशसभा बैठक चलाउन गरी तयारी भइरहेको छ । त्यस्तै गण्डकी प्रदेशमा पनि सभाहल जलेपछि मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेगरी अधिवेशन बोलाउने तयारी छ ।

बागमती प्रदेश सभाको छैठौ अधिवेशनको २४ औं बैठक गत भदौ १७ गते बसेको थियो । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । जेन-जी आन्दोलनका कारण बागमती प्रदेश सभा सचिवालयसहित मन्त्रालयका भवन जल्दा डेढ अर्ब बराबरको क्षति पुगेको भौतिक पुर्वधार विकास मन्त्रालयको प्रारम्भिक अनुमान छ । 

प्रतिकूलताका बाबजुद अब भने कानून निर्माणदेखि नागरिकका समस्या राख्ने थलो प्रदेश सभाको बैठक सञ्चालनका लागि प्रदेश सरकार तयारीमा जुटेको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय परिसरभित्र रहेको सभाहलमा प्रदेश सभाको बैठक सञ्चालन गर्ने तयारी छ ।

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनुभएको छ । प्रदेश सभाको बैठक बसेपछि सभामुखको राजीनामाका सन्दर्भमा सदनलाई जानकारी दिने र त्यसको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर सत्तारूढ दल कांग्रेस र एमालेभित्र कसलाई सभामुख बनाउने भन्ने विषय टुंगिसकेको छैन । संवैधानिक बाध्यतालाई ख्याल गर्दै बैठक बसेको १५ दिनभित्रै सभामुख चयन गर्नेगरी बैठक बोलाउने बागमती प्रदेश सरकारको तयारी छ ।

उता जेन-जी आन्दोलनपछि गण्डकी प्रदेश सभाको बैठक अर्को साता बस्नेभएको छ । दुईपटक स्थगित भएको बैठक तेस्रोपटक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि असोज २२ र भदौ २५ मा तोकिएका बैठकहरू स्थगित भएका थिए । पोखराको नदीपुर रहेको प्रदेश सभा भवन जेन-जी आन्दोलनका क्रममा जलेपछि बैठक मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने तयारी सचिवालयले गरेको छ ।

गण्डकी प्रदेश सभा सचिवालयमा अहिले गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालयसम्बन्धी संशोधन गर्न बनेको विधेयक दर्ता छन् ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।

Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।