
काठमाडौं । करिब ५० दिनको मध्यपूर्वको भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
वेस्ट इन्डिजविरूद्ध युनिटी कपमा हात पारेको ऐतिहासिक जितपछि नेपाली टोली ओमान पुगेको हो । टी-२० विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन बनेर २०२६ को पुरूष विश्वकपको टिकट सुनिश्चित गरेको टोलीले यूएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग-२ मा लगातार हार बेहोर्यो ।
जसले ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको खराब लयलाई उजागर गर्यो । अब नेपाल प्रिमियर लिग एनपीएलमार्फत खेलाडी पुनः लय फर्काउने तयारी सुरू भएको छ । बिहीबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्का र टिम म्यानेजर विनोद दासलगायतले आतिथ्यतापूर्वक स्वागत गरे ।
नेपालको पचास दिने मध्य पूर्व यात्रा असोज ४ गते सुरू भएको थियो । जब टोली वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक सिरिजका लागि यूएई गएको थियो । वेस्ट इन्डिजविरूद्धको युनीटी कपमा २-१ को ऐतिहासिक जितपछि नेपाली टोली आत्मविश्वासका साथ ओमान पुगेको थियो । ओमानमा आईसीसी टी-२० विश्व कप एशिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा अपराजित रहँदै च्याम्यिनका रूपमा नेपालले २०२६ मा भारत र श्रीलङ्कामा हुने आईसीसी पुरूष टी-२० विश्वकपको टिकट सुनिश्चित गर्यो ।
यो नेपालको समग्रमा तेस्रो र लगातार दोस्रो विश्वकप यात्रा हो । छनोट प्रतियोगिताको उपलब्धि नेपाली क्रिकेटले हालसम्म प्राप्त गरेको सबैभन्दा ठूलो ट्रफी समेत हो । सामोआविरूद्धको अन्तिम खेलमा नेपालले १२४ रनको विशाल अन्तरले जित निकाल्दै च्याम्पियन बनेको थियो ।
लामो समयपछि उपाधि जित्नु र अपराजित रूपमा विश्वकपमा पुग्नु ठुलो उपलब्धि रहेको बताएका कप्तान रोहित पौडेलले लिग टूमा ब्याटरहरूबीच साझेदारी हुन नसक्दा हारको सामना गर्नु परेको स्विकार गरे । विश्वकप छनोटपछि नेपाली टिम सिधै यूएई पुगेको थियो ।
जहाँ नेपालले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज खेलेको थियो । त्यहाँ भने प्रदर्शन निराशाजनक रहृयो । नेपालले क्रमशः अमेरिका र यूएईसँगका २-२ खेलमा पराजय बेहोर्दै सबै चार खेल गुमायो । लिग-२ मा क्लिन स्विप हार बेहोर्नु पर्यो ।
सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले विश्वकपमा छनोट हुने मुख्य उदेश्य पुरा भए पनि लामो यात्राका कारण खेलाडीले रिफ्रेस हुने मौका नै नपाउँदा लिग-२ मा अपेक्षित प्रदर्शन निकाल्न गाह्रो भएको बताए । यस क्रिकोणात्म सिरिजमा कप्तान रोहित पौडेलले यूएईविरूद्ध शतक प्रहार गर्दै ओडीआईमा दोस्रो शतक बनाए ।
साथै उनले २ हजार एकदिवसीय अन्तर्राष्ट्रिय रनसमेत पुरा गरे । उनी यी दुबै उपलब्धि हासिल गर्ने पहिलो र एकमात्र नेपाली ब्याटर हुन् । तर एकदिवसीय क्रिकेटमा संघर्ष गरिरहेको नेपालका लागि जितविहीन बन्नु सबैभन्दा दुख:द रह्यो । यससँगै नेपालको लिग २ को शीर्ष ४ मा रहँदै सिधै विश्वकप छनोट खेल्ने सम्भावना न्यून बनेको छ भने नेपाललाई एकदिवसीय मान्यता जोगाउन पनि कठिन बनेको छ ।
हाललाई नेपाली क्रिकेट खेलाडी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तयारीमा जुटेका छन् । मंसिर १ गतेदेखि सुरू हुने यही प्रतियोगितामार्फत टिमका खेलाडीहरू पुनः लयमा फर्कने अपेक्षा समर्थकको छ ।