सिरहा । सिरहाको कल्याणपुर नगरपालिका-८ अरङका दलित परिवारलाई नगरपालिकाले राहत सामग्री प्रदान गरेको छ ।
गत शुक्रबार घर भत्काइएका पाँच पीडित दलित परिवारलाई नगरपालिकाले राहत सामग्री प्रदान गरेको हो । नगरपालिकाका अनुसार, प्रतिपरिवार चामल २५ किलो, दाल ५ किलो, चिउरा ५ किलो, मुरही ५ किलो, साेयाबिन १ किलो, आलु ५ किलो, प्याज ५ किलो, आटा ५ किलोसहित, तेल, नुन, बेसार, अदुवा, लसुन, दालमोट, बिस्कुट, लुगा धुने साबुन, नुहाउने साबुन, मिक्स मसालालगायतका सामग्री उपलब्ध गराइएको छ ।
पीडित परिवारको आवासका लागि पनि आफूहरूले छलफल गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले जानकारी दिनुभयाे । 'अहिले हामीले उहाँलाई तत्कालका लागि राहत दिएका छौं,' उहाँले भन्नुभयाे, 'आवासका लागि हामी छलफल गर्दैछौं ।'
अरङस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समुदायका स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतले तोडफोड र लुटपाट गरेका थिए ।
यस घटनामा १३ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता भएर वडाध्यक्ष रामकिशोर यादवसहित गणेश र कैलाश पक्राउ परिसकेका छन् । अन्यको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धीत समाचार :