आईसीसी क्रिकेट विश्वकप लिग 'टू' : अमेरिकाकाे लगातार दोस्रो जित

कार्तिक ११, २०८२ |खेल ब्युरो
आईसीसी क्रिकेट विश्वकप लिग 'टू' : अमेरिकाकाे लगातार दोस्रो जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग 'टू'अन्तर्गत यूएईमा जारी सिरिजमा अमेरिकाले लगातार दोस्रो जित हातपारेको छ। 

यूएई र अमेरिकाबीच मंगलबार भएको खेलमा पाहुना टोलीले चार विकेटको जितसँगै अंकतालिकाको शीर्षस्थानमा पकड बलियो बनाउँदै गएको छ। मंगलबारको खेलमा यूएईका पाँच खेलाडीले डेब्यु गरेका थिए। अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ९ विकेटको गुमाएर २ सय ११ रन बनाएको थियो। 

ओपनर आर्यन्श शर्मा र अलीशान शराफु सुरूवाती २ ओभरमै आउट भएपछि घरेलु टोली दबाबमा पर्‍यो। त्यसपछि मोहम्मद शाहदादले ३४ रन बनाए भने कप्तान राहुल चोप्राले ३६ रनको योगदान गरे। २७ रन बनाएका सोएब खान रनआउट हुँदै पभेलियन फर्किए। 

हर्षित कौशिकले उत्कृष्ट प्रदर्शन गर्दै ५३ रन जोडेर टोलीलाई प्रतिस्पर्धात्मक स्कारेमा पुर्‍याएका हुन्। बलिङतर्फ अमरिकाका कप्तान सौरभ नेत्रवाल्करले ३ विकेट लिए। जसदीप सिंह र शुभम रञ्जनेले दुई-दुई विकेट हात पारे भने रशिल उगाकरले एक विकेट लिएका थिए।

जवाफमा अमेरिकाले पनि बलियो सुरूआत गर्न सकेन। २ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २२ रन बनाउँदै तीन विकेट गुमायो। समित पटेल शुन्य, एन्ड्रियस गस एक र सइतेजा मुक्कमल्ला ८ रनमा आउट भएका थिए। 

यद्यपि, तेस्रो नम्बरका मोनांक पटेलले ६७ बलमा ५० रन बनाएपछि अमेरिकाले मोमेन्टम पाएको थियो। त्यसपछि सयन जाहान्गिरले १८ रन जोडे भने मिलिन्द कुमार र शुभम् रञ्जानेले ७३ रनको साझेजारी गरेर आफ्नो टिमलाई कम्ब्याक गराएका हुन्। ८१ बलमा ७१ रन बनाएका मिलिन्दलाई आउट गराउँदै जुनैद सिद्दकीले यो साझेदारी तोडेका थिए। 

अन्तिममा शुभमले अविजित ४६ रन बनाउँदै खेल समाप्त पारे। यूएईका लागि जुनैद सिद्दकीले तीन तथा सिमरनजित सिंहले दुई विकेट लिए पनि अमेसिरलाई जितसम्म पुग्नबाट रोक्न सकेनन्। जारी सिरिजमा यो यूएईको पहिलो खेल हो भने अमेरिकाको दोस्रो खेल हो। 

आफ्नो पहिलो खेलमा अमेरिकाले नेपाललाई एक सय ६ रनले हराएको थियो। यूएईले बिहीबार नेपालसँग खेल्ने तालिका छ। २२ खेलबाट ३२ अंक बनाएको अमेरिकाले दोस्रो स्थानको स्कटल्यान्डलाई २ अंकले पछि पारेको छ। आठौं स्थानको यूएईको ६ र सातौं स्थानको नेपालको १२ अंक रहेको छ।