सिरहा । सिरहाको कल्याणपुर नगरपालिका-८ अरङमा दलितको घरमा तोडफोड र लुटपाट भएको घटनामा वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडाध्यक्ष रामकिशोर यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष यादवलाई इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा राखिएको छ । घटनामा उनले भूमिका खेलेको र यसका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख अनन्तराम शर्माले बताउनुभयाे ।
अरङस्थित ठूलो पोखरीको उत्तरपट्टिको सार्वजनिक जग्गामा बसोवास गर्दै आएका दलित समुदायका पाँच परिवारमाथि शुक्रबार दिउँसो दुर्व्यवहार गर्दै उनीहरूको घरमा तोडफोड र लुटपाट भएको थियो । राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा आक्रमण गरिएको थियो ।
पीडित अशोक पासवानका अनुसार, राजपुत समुदायका स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइनलगायत करिब २५ र ३० जनाको समूहले दलित परिवारलाई दुर्व्यवहार गर्दै घरमा तोडफोड र लुटपाट गरेका हुन् ।
उनीहरुले पाँचै जनाको फुसका घर पूर्ण भत्काएका छन् भने घर छेउछाउमा भएका बोट बिरूवा पनि भाँचिदिएका छन् । यस्तै, घरमा भएका खाद्यान्न सामग्री, लत्ताकपडा, गरगहनासहित नगद पनि लुटेर लगेको पीडितको आरोप छ ।
यसअघि गत असोज १ गते विश्वकर्मा पूजाको दिन गाउँकै गुद्री बजारमा आर्केष्ट्रा ल्याइएको थियो । जसमा पासमान टोलका युवाहरुसँग प्रभास समूहको विवाद परेको थियो । विवादकै क्रममा उठीबास लगाउने धम्की दिएपछि दलित समुदायका स्थानीयहरूले प्रहरीमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय, मिर्चैयामा असोज ३ गते उजुरी दिएकोमा अर्को पक्ष पटक-पटक समय लिएर पनि उपस्थित नभएपछि पछिल्लोपल्ट असोज २१ का लागि छलफल तोकिएको थियो । तर, छलफल हुन नपाउँदै उनीहरुले दलित समुदायको घरमा आक्रमण गरेका हुन् ।
प्रहरीले संलग्न रहेको आरोपमा स्थानीय गणेश कामतीलाई शुक्रबार नै नियन्त्रणमा लिएको थियो । अन्यको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।